Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेल काठमाडौं फर्किन्

नेपालकी ट्रान्स महिला निलम पौडेल सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किएकी छिन्। गत शनिबार सगरमाथाको सफल आरोहण गरेसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी छिन्।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ लगायतले स्वागत गरेका थिए। पत्रकारहरूसँगको कुराकानीमा पौडेलले सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन पाउँदा खुसी लागेको बताइन्।

उनले भनिन्, ‘मैले हाम्रो सोसाइटीको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिलाको रूपमा आफ्नो परिचय बनाउन सफल भएकी छु। आशा छ, यसले हाम्रो सोसाइटीका अन्य सदस्यहरूलाई पनि ’हामीले पनि यस्ता काम गर्न सक्ने रहेछौँ’ भन्ने प्रेरणा मिल्नेछ।’

उनले यो आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा लिएको बताइन्।