राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि विस्तृत तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनसम्बन्धी सांगठनिक तथा निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
सार्वजनिक कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनबाट प्राप्त प्रतिवेदनहरू जेठ २० गतेभित्र संकलन गरिनेछ। त्यसपछि महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम मिति जेठ २५ गते तोकिएको छ।
त्यसैगरी जिल्ला सभापतिहरूले आफ्नो जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन जेठ मसान्तभित्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। रास्वपाले यस पटकको महाधिवेशनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गर्ने निर्णय पनि गरेको छ। यसका लागि आवश्यक प्राविधिक तयारी तथा छलफल आगामी असार ५ गतेभित्र सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ।
पार्टी नेतृत्वका अनुसार महाधिवेशनलाई व्यवस्थित, समयबद्ध र सहभागीमुखी बनाउन सबै तहका संगठनहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ।
