नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रश्न गरेका छन्।
जेठ ४ गतेदेखि शुरु भएको बैठक शुक्रबार र शनिबार पनि बसेको थियो भने त्यसको निरन्तरता स्वरूप आज पनि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा केहि बेरअघि शुरु भएको हो ।
आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा सुनिसकेपछि आफूलाई कुन प्रक्रियाबाट हटाउने भनेर प्रश्न गरेको एक नेताले बताए।
'मलाई हटाउने हो भने कुन विधिबाट कसरी हटाउने?' ओलीले बैठकमा राखेको प्रश्न उद्धृत गर्दै एक नेताले भने, 'राष्ट्रिय महाधिवेशन गरेको ६ महिना पनि भएको छैन, फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा नहोला, विशेष महाधिवेशन गर्नुपर्ने होला। तीन महिनाअघि गरेको तहगत अधिवेशन के गर्ने?'
यसैबीच जारी बैठकमा अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी फेस गर्ने सन्देश दिइसकेका छन्।