बाल विवाह, दाइजो प्रथा, लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
वर्ल्ड भिजन इन्टर्नेशनल नेपालको सहयोग, बागमती सेवा समाज नेपालको आयोजना तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाको समन्वयमा सञ्चालित “बाल समृद्धि तथा एकीकृत विकास अभियान” अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।

समुदायमा बढ्दो बाल विवाह, दाइजो प्रथा, लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसाका घटनाविरुद्ध सचेतना फैलाउने उद्देश्यले विभिन्न वडामा नाटक प्रस्तुत गरिएको आयोजकले जनाएको छ। नाटकमार्फत समाजमा विद्यमान कुरीति र हिंसाका असरका साथै त्यसको रोकथामका उपायबारे प्रभावकारी सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा प्रत्येक वडामा एक हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको बताइएको छ। स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, अभिभावक, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा दर्शकहरूले नाटकलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

अभियानका प्रतिनिधि अशोक कुमार मालीका अनुसार सडक नाटकले बाल विवाह, दाइजो प्रथा, लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसाविरुद्ध आवाज उठाउनुका साथै शिक्षा, स्वास्थ्य, बालअधिकार, बाल संरक्षण र सरसफाइजस्ता विषयमा समेत समुदायमा व्यापक सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।
आयोजक संस्थाका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।