सिटिजन्स बैंकले सेवाग्राहीलाई छिटो–छरितो र आधुनिक बैंकिङ सेवा प्रदान गर्न समय–समयमा विभिन्न नयाँ प्रडक्टहरू ल्याउँदै आएको छ। हाल बैंकले ३१ वटा बचत खाता सञ्चालन गरिरहेको छ, जस मध्येको एक हो ‘जेनजी बचत खाता’।
भदौ २३–२४ गते भएको जेनजी आन्दोलनपछि बैंकले जेनजी पुस्तालाई लक्षित गर्दै यो बचत खाता सञ्चालनमा ल्याएको हो। छोटो समयमै उक्त खाता बचतकर्ता तथा प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेको छ।
पछिल्लो समय सञ्चालनमा आएको जेनजी बचत खातामा के–कस्ता विशेष सुविधा छन्, युवापुस्तामाझ यसको आकर्षण कस्तो छ, तथा बैंकले आगामी दिनमा के–कस्ता योजना बनाइरहेको छ भन्ने विषयमा सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापा सँग नेपालरैबारडटकमका जीवन बनियाले गरेको कुराकानीको सम्पादित अंश :
सिटिजन्स बैंकको जेनजी बचत खातामा के सुविधा छ?
हामीले २०८२ मङ्सिर महिनाबाट जेनजी बचत खाता सञ्चालनमा ल्याएका छौँ। यो खाता अहिलेका जेनजी पुस्तालाई लक्षित गरेर ल्याइएको खाता हो। जो व्यक्ति सन् १९९७ देखि सन् २०१२को बीचमा जन्मिए। उनीहरूलाई जेनजी भनिएको छ। बैंकले उनिहरूलाई लक्षित गरेर यो खाता ल्याएको हो।
जो व्यक्ति १८ वर्ष पुरा भएको छ उनिहरूले यो खाता खोल्न पाउँछन्, उक्त खातामा हामीले जेनजी पुस्ताहरुलाई लक्षित गरेर नयाँ नयाँ फिचर्सहरु पनि समावेश गरेका छौँ। अहिले बैंकमा ३ महिनाको लागि मुद्दति निक्षेपमा पैसा राख्दा २।७५ प्रतिशत ब्याज पाउन सकिन्छ, एक वर्षकोलागी मुद्दति निक्षेप राख्दा ३.२५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ। हालको अवस्थामा हामीले जेनजीहरुलाई भनेर बचत खातामा नै ३ प्रतिशत ब्याज दिने गरेका छौ। यो खाता अहिले सबैको आकर्षणमा परेको छ।
यो खाता १०० रुपैयाँमा खोल्न सकिन्छ। उक्त खाता खोल्नेले बैंकबाट चेकबुक निःशुल्क पाउँछन्। डिम्याट खाता निःशुल्क खोल्न सक्छन्, भने खाता खोल्नेले सेयरमा आवेदन दिँदा लाग्ने आश्वा शुल्क पनि तिर्नु पर्दैन। यो खातामा हामीले डिजिटल प्रडक्टहरुलाई लिंक गरेका छौं। यसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इकम कार्ड पनि समावेश गरेका छौँ। यी सबै सेवा लिनका लागि जेनजी बाहेक अन्यले भने १५ सय रुपैयाँ भन्दा बढी तिर्नुपर्छ। तर हामीले जेनजीहरुलाई ५०१ रुपैयाँमा सेवा दिइरहेका छौ। शुल्कको हिसाबले निकै कम छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड ५०१ रुपैयाँमा नै पाउन सकिन्छ।
अहिलेको युवापुस्ताहरु वित्तीय कारोबारमा निकै अभ्यस्त छन्। त्यसैले हामी शुल्क एकदमै कम राखेका छौ। यो खातामा अहिलेसम्म निकै राम्रो रेस्पोन्स आएको छ। इकम कार्ड लिनका लागि प्यान नम्बर चाहिन्छ। धेरैसँग प्यान नहुने हुँदा अलि समस्या भएको छ। हामीले सुरुमा चार वटा प्रडक्ट एउटै ब्रान्डलिङ गरेर ल्याएका थियौ। बैंकलेपछि इकम कार्डलाई बन्डलिङबाट हटाएर मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्डलाई ५०१ रुपैयाँमा अफर गर्यौ। हाल इकम कार्डलाई निःशुल्क गरेका छौं।
जेनजी पुस्ताहरुमा पनि कतिपय रोजगार हुन्छन्। भने कतिपय कलेजमा अध्ययन गरिरहेका हुन्छन्। उनिहरूको सजिलोको लागि नै भनेर हामीले यो प्याकेजको व्यवस्था गरेका हौँ। यो खाताको अर्को विषेशता भनेको ट्राभल कार्ड हो। नेपालीहरु थाइल्याण्ड, मलेसिया लगायत विभिन्न देशहरूमा जाने गर्छन्। अहिलेको पुस्तालाई विदेशमा जाँदा भुक्तानी गर्न सजिलो विकल्प भनेको ट्राभल कार्ड नै हो। तसर्थ यो खाता खोल्नेलाई ट्राभल कार्ड ५० प्रतिशत छुटमा दिने गरेका छौ। हामीले यसमा रिफर एण्ड रिवार्ड अफर पनि राखेका छौ। जेनजी खाता हुनेहरुले अर्को जेनजी युवालाई सिटिजन्स बैंकमा खाता खोल्नकालागी रिफर गरे भने खाता खोल्न लगाउनेलाई नगद सहितको रिवार्ड दिने व्यवस्था गरेका छौ । बैंकले २०० रुपैयाँ सेवा सुल्क लिने गरेको छ। त्यसका लागि बैंकमा जेनजी खाता खोलेको हुनु पर्छ। र अरुलाई खाता खोल्न सिफारिस गर्नुपर्छ।
जेनजी आन्दोलनलाई लक्षित गरेर बैंकले सीएआरमा ध्यान दिएको छ। राष्ट्र बैंकले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई सहयोग गर्न भनेकोले गर्दा त्यसलाई फोकस गरेर जेनजी आन्दोलनमा शहिद भएकाहरुको परिवारलाई एउटा खाता बराबर २५० रुपैयाँ दिने गरेका छौ। बैंकको आफ्नो लगानी रहेको क्यापिटलले ओपन इन्डेड म्युचुअल फण्ड सञ्चालन गरिरहेको हुँदा त्यसमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हुन्छ। जेनजी खाता खोलेपछि त्यो पनि लिन सकिन्छ। जेनजी खाता खोलेको एक साताभित्रमा मोबाइल बैंकिङबाट रिचार्ज गरेमा २० प्रतिशत क्यास ब्याक पनि पाउन सकिन्छ।
जेनजी बचत खाता खोल्नका लागि के कस्ता कागजात चाहिन्छ?
यो खाता खोल्नकालागी १८ वर्ष पूरा भएको प्रमाणित गर्न नागरिकता वा सरकारी मान्य परिचयपत्र अनिवार्य हुन्छ। हालचालै खिचिएको पासपोर्ट साइजको फोटो पनि आवश्यक हुन्छ। त्यसै गरी इकम कार्ड वा सेयर कारोबार गर्न चाहने युवाको लागि प्यान नम्बर अनिवार्य हुन्छ। विद्यार्थी वा रोजगारीमा संलग्न युवाले आफ्नो परिचयपत्र विद्यार्थी कार्ड वा रोजगार प्रमाणपत्र प्रस्तुत गर्नुपर्छ। र स्थायी वा अस्थायी ठेगाना खुल्ने कागजात पनि हुनु पर्छ। आवश्यक कागजातहरू पूरा भएपछि खाता खोल्ने प्रक्रिया सजिलो हुन्छ।।
यो खाता खोल्नका लागि भौतिक रूपमा बैङ्कमा उपस्थित हुनु पर्छ कि अनलाईनको माध्यमबाट पनि खाता खोल्न सकिन्छ?
जेनजी बचत खाता खोल्नका लागि हामीले ग्राहकलाई दुई विकल्प उपलब्ध गराएका छौँ। पहिलो विकल्प भनेको ग्राहकहरूले प्रत्यक्ष रूपमा नजिकको शाखामा उपस्थित भएर खाता खोल्न सक्छन्। शाखामा गएर आवश्यक कागजातहरू पेश गरेपछि हाम्रो कर्मचारीले सम्पूर्ण प्रक्रिया सजिलै पूरा गरिदिन्छन्। दोस्रो विकल्प भनेको अनलाइन माध्यम हो। हाम्रो आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एप प्रयोग गरेर अनलाइन आवेदन फारम भर्न सकिन्छ। आवश्यक कागजातहरू स्क्यान गरेर अपलोड गर्नुपर्छ। आवेदन स्वीकृत भएपछि ग्राहकलाई खाता नम्बर प्रदान गरिन्छ र डिजिटल सेवाहरू तुरुन्तै सक्रिय हुन्छ भने कागजातको भौतिक प्रमाणीकरण गर्नु पर्ने हुँदा खाता खोलेको व्यक्ति एकपटक बैङ्कमा उपस्थित हुनु पर्छ।
यो खाताको नाम जेनजी नै राख्ने योजना कसरी बन्यो ?
जेनजी आन्दोलन हुनु भन्दा पहिला नै बैंकले प्रडक्ट ल्याउने तयारी गरिरहेको थियो। जेनजी आन्दोलन भएपछि हामीले कसलाई लक्षित गरेर प्रडक्ट ल्याउने भनेर निकै छलफल गर्यौं। आन्दोलनपछि हाम्रो प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नै जेनजीहरुका लागि हुने गरी प्रडक्ट ल्याऔ भन्नुभयो । त्यसपछि हामीले जेनजी पुस्ताका लागि भनेर यो खाता सञ्चालनमा ल्यायौ।
जेनजी बचत खाता सुरु गरेपछि युवापुस्ताबाट तपाईँहरूले कस्तो प्रतिक्रिया पाउनु भयो?
जेनजी बचत खाता सुरु गरेपछि युवापुस्ताबाट हामीले निकै उत्साहजनक प्रतिक्रिया पाएका छौँ। यो पुस्ता डिजिटल प्रविधिमा अभ्यस्त भएकाले, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सुविधा कम शुल्कमा उपलब्ध गराएको कुरा उनीहरूलाई विशेष आकर्षक लागेको छ। सामान्य बचत खातामाभन्दा बढी ब्याज पाउने भएकाले युवाहरूले यसलाई भविष्यको वित्तीय योजना बनाउन उपयुक्त ठानेका छन्। विद्यार्थी र रोजगारीमा संलग्न युवाले ५०१ रुपैयाँमै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सुविधा पाउनुलाईठूलो राहतको रूपमा लिएका छन्।
यसैगरी साथीलाई खाता खोल्नकालागी सिफारिस गर्दा नगद रिवार्ड पाउने योजनाले युवाहरूबीच सहभागिता र नेटवर्किङ बढाएको छ। भने विदेश यात्रा गर्ने युवाका लागि ५० प्रतिशत छुटसहितको ट्राभल कार्डले उनीहरूलाई थप आकर्षित गरेको छ। मोबाइल बैंकिङबाट रिचार्ज गर्दा २० प्रतिशत क्यासब्याक पाउने सुविधा तत्कालै महसुस गर्न सकिने भएकाले जेन्जी खाता युवाहरु बीच अझ लोकप्रिय बनेको छ। र उक्त खाता युवापुस्ताको जीवनशैलीसँग मेल खाने गरी डिजाइन गरिएको हुँदा युवाहरूले यसलाई आधुनिक, सजिलो र लाभदायक विकल्पको रूपमा ग्रहण गरेका छन्। अहिले सम्मको प्रतिक्रिया हेर्दा, यो खाता बैंकका अन्य बचत खाताभन्दा बढी लोकप्रिय हुँदै गएको छ।
आगामी दिनमा जेनजी बचत खातामा थप के के सुविधा ल्याउने तयारी छ?
हामीले जेनजी बचत खाता सुरु गर्दा युवापुस्तालाई लक्षित गरेर डिजिटल सुविधा, कम शुल्क, र आकर्षक ब्याजदर जस्ता विशेषता समावेश गरेका थियौँ। तसर्थ आगामी दिनमा अझै नयाँ सुविधा थप्ने तयारी भइरहेको छ। मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङलाई अझै सहज बनाउनकालागी नयाँ फिचरहरू ल्याउने योजना बनाइरहेका छौँ, युवाहरूको विदेश अध्ययन र रोजगारीलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप सहज बनाउनेछौँ, ट्राभल कार्डमा थप छुट र सुविधा उपलब्ध गराउने सोच बनाएका छौँ, म्युचुअल फण्ड र सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानलाई अझै आकर्षक बनाउन विशेष अफर ल्याउने तयारी गरिरहेका छौँ, युवाहरूबीच नेटवर्किङ र रिवार्डलाई बढावा दिन रिफर एण्ड रिवार्ड योजनालाई अझै विस्तार गर्नेछौँ, र अर्को महत्वपूर्ण कुरा भनेको KYC फर्मलाई भिडियोमा बनाउने योजना पनि अघी सारेका छौँ। जसले गर्दा ग्राहकलाई सजिलो बनाउनेछ। भिडियो KYC प्रणालीमार्फत ग्राहकले आफ्नो परिचय आफै प्रमाणीकरण गर्न सक्नेछन्।