Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

संविधान संशोधन कार्यदलले आम नागरिकसँग माग्यो सुझाव

संविधान संशोधनका विषयमा नागरिक तहबाट राय तथा सुझाव संकलन गर्ने उद्देश्यले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२' ले संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव मागेको हो ।

कार्यदलले सबै नागरिकलाई नेपालको संविधानमा आवश्यक देखिएका सुधार तथा संशोधनसम्बन्धी सुझाव सात दिनभित्र पठाउन आग्रह गरेको छ ।

सुझाव पठाउने ठेगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँमा रहेको 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को सचिवालय तोकिएको छ । सुझाव इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ । इमेल ठेगाना [email protected] तथा [email protected] रहेको छ । साथै, ९८५६०२९९४७ नम्बरको व्हाट्सएपमार्फत पनि सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ ।

 उक्त कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव, नेपाल कानून आयोगका सचिव सदस्य रहनेछन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।