Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पार्टी अप्ठ्यारोमा परेका बेला पुनर्गठन भन्दै हिँड्नेहरूलाई कारबाही हुन्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

सोमबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि संकट आइपरेका बेला झन् अप्ठ्यारो पर्ने गरी पुनर्गठनको बहस गर्न थालेको भन्दै उनीहरू सबैलाई कारबाही गर्ने चेतावनी दिएको एक पदाधिकारीले बताए।

'अध्यक्षले सोमबारको बैठकमा झन्डै एक घन्टा बोल्नुभयो। पार्टी पुनर्गठनको बहस चलाउने नेता–कार्यकर्ताहरूप्रति उहाँले आक्रोश पोख्नुभयो,' ती नेताले भने, 'पार्टी, नेतृत्व संकटमा परेका बेला, आन्दोलन कमजोर बनाउन खोजिएका बेला पुनर्गठन गर्नुपर्छ भन्दै बहस चलाउनु अराजकता भएको भन्दै कारबाही गर्ने उहाँको आसय थियो।' 

अध्यक्ष ओलीले सचिवालय तहका कुनै नेताको नाम लिएनन्। तर उनको आक्रोश पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेतर्फ लक्षित रहेको सचिवालय तहकै नेता बताउँछन्।