Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जंक फुड नियन्त्रण र बालबालिकालाई विद्यालय पठाउने सन्देशसहित जनचेतनामूलक र्‍याली सम्पन्न

“जंक फुड बन्द गरौं तथा बालबालिकालाई विद्यालय पठाऔं” भन्ने मूल नाराका साथ सर्लाहीमा जनचेतनामूलक र्‍याली तथा सरसफाइ अभियान सम्पन्न भएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, बागमती सेवा समाज नेपालको आयोजना तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाको समन्वयमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकास अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत हरिपूर्वा नगरपालिका–५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, वडा नं. ९ बगेवामा रहेको राष्ट्रिय आधारभूत विद्यालय तथा पर्सा गाउँपालिकाका विभिन्न विद्यालयहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। साथै विद्यार्थीहरूको सहभागितामा जनचेतनामूलक र्‍याली समेत निकालिएको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले
 “जंक फुड बन्द गरौं!”
 “सबै बालबालिकालाई विद्यालय पठाऔं!”
“स्वस्थ बालबालिका, समृद्ध समाज!”
 “सरसफाई गरौं र सफा रहौं!”
जस्ता नारामार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गरेका थिए।

विद्यार्थीहरूले जंक फुडको अत्यधिक प्रयोगले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले स्वस्थ खानपान अपनाउन आग्रह गरेका थिए। साथै शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका विद्यालय बाहिर रहन नहुने सन्देशसमेत दिएका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, प्रहरी तथा बागमती सेवा समाजका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकाको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

बागमती सेवा समाज नेपालका सामुदायिक परिचालक अशोक कुमार मालीका अनुसार हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन भइरहेको यस अभियानले शिक्षा, स्वास्थ्य, बाल अधिकार, बाल संरक्षण तथा सरसफाइसम्बन्धी विभिन्न कार्यक्रममार्फत समुदायमा निरन्तर जनचेतना फैलाउँदै आएको छ।