बाजुरामा १० दिनदेखि बेपत्ता एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जगन्नाथ गाउँपालिका–५ गोत्रीकी अन्दाजी ३५ वर्षीया लालचना बुढा (शाही) मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमानसँग विवाद भएपछि उनी २०८३ वैशाख २६ गते माइतीघर जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर, माइतीघर नपुगेपछि परिवारले आफन्त तथा छरछिमेकमा खोजी गरेका थिए । खोजीका क्रममा कतै फेला नपरेपछि उनका दाइ नरबहादुर बुढाले प्रहरीमा हुलियासहित निवेदन दिएका थिए ।
खोजतलासकै क्रममा कालिकोटको त्रिवेणी गाउँपालिका–२ आमतडा स्थित कर्णाली नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सान्नी, कालिकोटबाट टोली खटिएको प्रहरीले जनाएको छ ।