Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

“जंक फुड बन्द गरौं, सबै बालबालिकालाई विद्यालय पठाऔं” नारासहित हरिपुर्वामा जनचेतनामूलक र्याली सम्पन्न

वल्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाज नेपालको आयोजना तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकास अभियान अन्तर्गत आज जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको छ।

श्री सोनफी प्राथमिक विद्यालयबाट सुरु गरिएको र्याली हरिपुर्वा नगरपालिका वडा नं. १, २ र ५ का विभिन्न क्षेत्र परिक्रमा गर्दै सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, प्रहरी कर्मचारी तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

WhatsApp Image 2026-05-18 at 2.52.42 PM (1).jpeg

र्यालीका क्रममा सहभागी विद्यार्थीहरूले
 “जंक फूड बन्द गरौं!”
 “सबै बालबालिकालाई विद्यालय पठाऔं!”
 “स्वस्थ बालबालिका, समृद्ध समाज!”
जस्ता सशक्त नारामार्फत समुदायमा स्वास्थ्य, शिक्षा तथा बालअधिकारसम्बन्धी जनचेतना फैलाएका थिए।

विद्यार्थीहरूले जंक फुडको अत्यधिक सेवनले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै स्वस्थ, स्वच्छ तथा पोषणयुक्त खानपान अपनाउन सबैलाई आग्रह गरेका थिए। साथै, शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुन नहुने सन्देश समेत दिएका थिए।

WhatsApp Image 2026-05-18 at 2.52.42 PM (2).jpeg

कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलापस्वरूप सामान्य ज्ञान प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले बालबालिकाको सक्रिय सहभागिता र सामाजिक चेतनाप्रति प्रशंसा व्यक्त गर्दै यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

WhatsApp Image 2026-05-18 at 2.52.41 PM.jpeg

हरिपुर्वा नगरपालिकामा सञ्चालन भइरहेको उक्त अभियानमार्फत शिक्षा, स्वास्थ्य, बालअधिकार तथा बाल संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी समुदायमा जनचेतना अभिवृद्धि गरिँदै आएको बागमती सेवा समाज नेपालका सामुदायिक परिचालक अशोक कुमार मालीले जानकारी दिएका छन्।