Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पोखराका सुकुमबासीको अडान: वैकल्पिक व्यवस्था बिना स्थान नछोड्ने

पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् । इतिहास अनुसार २०३२ सालमा पृथ्वी चोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा सुकुमबासीहरूको बसोबास सुरु भएको हो । 

महानगरले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरिसकेको भए पनि सर्वोच्च अदालतले सुकुम्बासीलाई जबरजस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन् । 

पोखराभित्रका सुकुमबासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन्।

पोखरा नगर योजना (वि.सं.२०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं.२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।