खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम गुणस्तर भेटिएपछि ‘करेन्ट चाउचाउ’ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणका क्रममा सरकारले तोकेको मापदण्डभन्दा कम गुणस्तरको पाइएपछि उत्पादन र वितरण रोक्न तथा बजारबाट रिकल गर्न विभागले आदेश दिएको हो।
विभागका अनुसार यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्राम प्याकेटको करेन्ट चाउचाउमा तोकिएको सीमा भन्दा बढी एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु भेटिएको छ। यस्तो अवस्था स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिने भएकाले उक्त उत्पादन खान अयोग्य ठहर गरिएको विभागले जनाएको छ।
स्वास्थ्य विज्ञका अनुसार एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु अत्यधिक हुँदा ग्यास्ट्रिक समस्या, घाँटीमा जलन, फुड पोइजनिङ लगायत स्वास्थ्य जोखिम उत्पन्न हुन सक्छ। विभागले विशेष गरी ब्याच नम्बर ०४ए, उत्पादन मिति २३ फेब्रुअरी २०२६ र १२ महिना उपभोग्य अवधि उल्लेख गरिएको करेन्ट चाउचाउ बजारमा बिक्री वितरण नगर्न तथा उपभोक्ताले पनि प्रयोग नगर्न आग्रह गरेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ उपदफा (२) अनुसार उक्त उत्पादन बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन जारी गरिएको विभागले जनाएको छ। साथै विभागले उपभोक्तालाई शंकास्पद खाद्य पदार्थ प्रयोग नगर्न र सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ।