Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

हर्कराज राईले सोधे- यो देशमा प्रधानमन्त्री छ कि छैन ?

श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा राईले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको बताएका हुन्।

उनले भने,‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । यस्तो गर्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो।'

राईले सरकारले जनतालाई सुरक्षा दिन नसकेको र सीमा क्षेत्र जोगाउन असफल भएको आरोप लगाए । ‘जनता सरकारसँग डराइरहेका छन् । जनताको सुरक्षा नदिने, सीमाक्षेत्र जोगाउन नसक्ने सरकार कसरी सरकार हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले भारतले सीमामा पर्खाल लगाइरहेको विषयमा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गरे ।