नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै दुई तिहाइको विशाल बहुमतलाई 'अहंकारको मलखाद' बन्न नदिन सुझाव दिएका हुन्।
उनले भने,‘पुराना नेता’ र ‘पुराना पार्टी’का नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।
संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको स्मरण गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे। ‘दुईतिहाइको कुसासनको प्रतिरोध’ उनले भने, ‘प्रतिपक्षका रुपमा हाम्रो संख्या सानो थियो । तर, त्यो सानो संख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो ।’
प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको आरोप लगाए । उनले स्पष्ट पारे,‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ। सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’