Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गगन थापाले एसइई नतिजा छिटो सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिए

नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्षको एसइई परीक्षाको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएकोमा सरकार, सम्बन्धित निकाय तथा संलग्न सबैलाई धन्यवाद तथा बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस वर्षको एसइई परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिदै नतिजा छिटो प्रकाशन गरेकोमा सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिएका हुन् । 

उनले विद्यार्थीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले सार्थकता पाएको बताएका छन् । त्यस्तै अपेक्षित नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै उनले यसलाई जीवनको एउटा खुड्किलोका रूपमा लिन सुझाव दिएका छन् । आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को अवसर भएको उल्लेख गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।

सभापति थापाले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा आवश्यक शैक्षिक परामर्श उपलब्ध गराउन स्थानीय सरकारहरूलाई तत्काल समन्वय गर्न पनि अनुरोध गरेका छन् ।