Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

किशोरीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) तथा UNFPA को आर्थिक सहयोगमा, ग्रामीण विकास केन्द्र नेपाल (RDC Nepal/GNI Nepal) को आयोजना एवं हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “किशोरी तथा युवतीहरूको लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE GIRLS)” परियोजना अन्तर्गत ३० दिने रुपान्तरण सत्रमा सहभागी किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

4d051f66-f6c1-49c5-994a-afda18b0d39b.jpg

हरिपूर्वा नगरपालिका–५ स्थित श्री सोनफी प्राथमिक विद्यालय तथा श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सत्रमा सहभागी किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो।

३० दिने रुपान्तरण सत्रको मुख्य उद्देश्य किशोरीहरुलाई जीवनप्रति सकारात्मक सोच विकास गराउनुका साथै समाजमा विद्यमान समस्या, विभेद तथा कुरीतिहरुबारे सचेत बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

c26ca1cd-9d15-4564-b0cf-8e661c1ac4ff.jpg

सत्रअन्तर्गत सहभागी किशोरीहरुलाई जीवन उपयोगी सीप विकास सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो। जसमा प्याड निर्माण, लैंगिक हिंसा विरुद्धको सचेतना, प्रजनन स्वास्थ्य, पोषण सम्बन्धी ज्ञान, किशोरावस्थाको समग्र जानकारी, उद्यमशीलता विकास, खर्च तथा बचत व्यवस्थापन लगायतका विषय समावेश रहेका थिए। उक्त कार्यक्रम RDC Nepal द्वारा सञ्चालन गरिएको हो।

कार्यक्रममा श्री सोनफी प्रा.वि.का प्रधानाध्यापक शशि कुमार यादव तथा हरिपूर्वा नगरपालिकाका शिक्षा अधिकृत जनक काफ्लेको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी कक्षा १० मा अध्ययनरत छात्रा कविता कुमारी साहले ३० दिने रुपान्तरण सत्र आफूहरूको जीवनमा निकै उपयोगी भएको बताइन्। उनले भनिन्, “यस सत्रमार्फत मैले धेरै महत्वपूर्ण कुराहरु सिक्ने अवसर पाएँ। मैले सिकेका ज्ञान र सीप आफ्ना समुदायका किशोरी तथा भाईबहिनीहरुलाई सिकाउन पाउँदा आफूलाई गर्व महसुस भएको छ।”

269d34ed-6b0e-4319-a414-99766421aaf6.jpg

SAFE GIRLS परियोजनाले किशोरीहरुको आत्मविश्वास वृद्धि गर्दै उनीहरुलाई सुरक्षित, सचेत र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको स्थानीयवासीहरुको भनाइ रहेको छ।