Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गरिबको चमेली बोलदिने कोही छ भनेर आवाज उठाउनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले गर्ने सकारात्मक काममा बिनापूर्वाग्रह साथ रहने बताएका छन्।

शर्माले आज सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री र मन्त्रीहरूलाई शुभकामना दिँदै शर्माले सरकारको कामको सफलता शुभकामनामा मात्रै भन्दा पनि प्रश्न, दबाब, जबाफदेहीता, रूपान्तरण, नीति थिति र गतिमा निर्भर रहने बताएका छन्।

‘विगतमा कांग्रेसमा रहेका केही सत्तारूढ सांसदहरूसँग केही दिनअघि मेरो व्यक्तिगत भेट भएको थियो- मैले सोधेँ, नयाँ सरकारलाई सोध्नैपर्ने गम्भीर प्रश्न उठेका छन्, संसदमा के के प्रश्न उठाउनुहुन्छ? अलि मलिन स्वरमा मार्मिक जबाफ पाएँ। यसरी खुलेआम प्रश्न सोध्न सक्ने साहस कांग्रेस हुँदासम्म मात्रै हो। संसद डेढ, दुई महिना चलेर सकिएपछि तिनले जनताको कस्तो प्रश्नको सामना गर्नुपर्ला!’ उनले भने ।

उनले रास्वपाका सांसदहरूप्रति लक्ष्य गर्दै सरकारका कामकारबाहीप्रति मौन रहेको समेत बताए ।

‘संवैधानिक परिषदलाई भताभुङ्ग बनाइयो। संसदको मौनधारण। अदालतलाई रबर स्ट्याम्पमा बदल्ने प्रयासमा नयाँ अवतार प्रकट भयो, मौनधारण। भ्रष्टाचार लागे पनि सांसदको लोगो लगाएर संसद जान पाइने नयाँ नियमावली आयो, मौनधारण। बाटोमा भेटिँदा कुनै युवाले सोध्न सक्छन्- मेरो १२ कक्षाको परीक्षा चलिरहेको थियो, विकल्प नदिई टहरा भत्काइयो, यो प्रश्न संसदमा उठाउनुभयो माननीयज्यू? मौनधारण,’ उनको भनाइ छ ।

सुकुम्बासी समस्या समाधान गर्नुपर्ने र यो काममा सरकारलाई सबैले सहयोग गर्नुपर्छ भन्दै  उनले सुकुम्बासी बस्ती हटाउँदा कानुनका कुरा गर्दा मानवीय कोण पनि हेर्नुपर्ने उल्लेख गरे। 

सांसदहरूलाई यस्ता प्रश्न जनताले उठाउन सक्ने पनि शर्माको भनाइ छ।

‘प्रधानमन्त्रीले कुनै बेला स्वर दिएको गीत- गरिबको चमेली बोलदिने कोही छैन। आदरणीय सांसदहरू मेरो देशमा लोकतन्त्र छ, भोट हाल्न पाइन्छ, जुलुस निकाल्न पाइन्छ, यो नै लोकतन्त्रको प्रथम र अन्तिम परिभाषा होइन,' उनले भने ।

भिडियो हेर्नुहोस्-