Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन ।

निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् ।

राजमार्ग अन्र्तगत विशेषगरी इलाम गोलाखर्क भञ्ज्याङदेखि माइखोला राजदुवालीसम्मको करिब तीन किलोमिटर क्षेत्र अत्यन्त जोखिमपूर्ण छ ।

photo-6_01c7f674.jpg

सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने, सडक भासिने र हिलो जम्ने समस्या दोहोरिने गरेको छ । कतिपय स्थानमा सडक साँघुरिँदै गएर एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउने गरेको छ भने कतिपयबेला पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।

photo-3_f40a42ac.jpg

दैनिक सयौं सवारी साधन सञ्चालन हुने यस खण्डमा जाम लाग्नु सामान्य जस्तै बनिसकेको छ । बिरामी बोकेका एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गाडीहरू घण्टौंसम्म रोकिन बाध्य हुने गरेका छन् ।

photo-5_58529642.jpg

यात्रुहरू जोखिम मोलेर पैदल हिँड्नुपर्ने अवस्था समेत पटक–पटक आउने गरेको छ । हाल उक्त खण्डमा जे एण्ड जे निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेको भएपनि काम गर्न समेत कठिनाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ ।

इलामका यातायात व्यवसायी सुमन काफ्लेले सडकको दयनीय अवस्थाले सवारी चालकहरू पनि जोखिमपूर्ण यात्राका कारण मानसिक तनावमा रहने बताएका छन भने सडकको अवस्थाले यातायातका साधनहरुमा समेत समस्या हुने बताउँछन् ।

photo-11_6cc0cfec.jpg

हाल सडक डिभिजन कार्यालय इलामले ठेक्का लागाएर काम गरिरहेको छ । कार्यालयका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडक सञ्चालनमा ल्याउन दिनहुँ काम भइरहेको तर भौगोलिक जटिलता र निरन्तर पहिरोका कारण समस्या जटिल बनिरहेको बताए ।

प्राविधिकहरूले यो क्षेत्र भू–स्खलनको दृष्टिले अत्यन्त संवेदनशील रहेको बताएका छन् । कमजोर भौगोलिक संरचना, पानीको उचित निकास नहुनु र विगतमा गरिएको अस्थायी कटानका कारण समस्या झन् बढ्दै गएको विश्लेषण गरिएको छ ।

photo-12_b82d2552.jpg

दीर्घकालीन समाधानका लागि रिटेनिङ वाल निर्माण, जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग, ढल व्यवस्थापन, र आवश्यक परे वैकल्पिक मार्ग निर्माण जस्ता उपाय आवश्यक देखिएको छ ।

सांसद निश्कल राईले भने यस समस्यालाई केन्द्र सरकारसम्म पुर्‍याइएको र आवश्यक बजेट व्यवस्थापनका लागि पहल भइरहेको बताए । इलाम क्षेत्रका संघीय सांसद तथा प्रदेशस्तरीय नेताहरूले समेत यस खण्डको समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताए ।

अर्का सांसद सुहाङ नेम्बाङले पनि उक्त सडक खण्डको समस्या चाँडो समाधान गर्न पहल गरिरहेको बताउने गरेका छन् ।

photo-13_9d79729c.jpg

तर, विगतका अनुभवका आधारमा स्थानीयवासीहरू यस्ता आश्वासनप्रति आश्वस्त देखिँदैनन् । उनीहरूले सम्बन्धित निकायलाई दीर्घकालीन योजना बनाएर छिटो कार्यान्वयन गर्न माग गरेका छन् ।

मेची राजमाग कोशी प्रदेशका पहाडी जिल्ला ताप्लेजुङ पाँचथर,ते¥हथुम र इलामलाई झापालगायत तराई क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो ।

यस मार्ग अवरुद्ध हुँदा यात्रु मात्र होइन, कृषि उत्पादन, दैनिक उपभोग्य वस्तु आपूर्ति र पर्यटन गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने गर्दछ । विशेषगरी चिया, अलैंची लगायतका उत्पादन ढुवानीमा समस्या हुँदा किसानहरू प्रभावित हुने गरेका छन् ।

photo-15_a9aefbed.jpg

वर्षायाम सुरु भएसँगै जोखिम अझ बढ्ने देखिएको छ । माइखोला–राजदुवाली सडक खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेपनि दिगो समाधान हुन सकेको छैन ।

दीर्घकालीन सोच, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनबिना यो समस्या कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । यात्रु र स्थानीयवासीहरू भने सुरक्षित, भरपर्दो र सहज यात्राको प्रतीक्षामा छन् ।

photo-16_60190bae.jpg