मनाङमा प्रसिद्ध भएको पर्यटकीय गन्तव्य तिलिचो ताल जान पर्यटकहरूको चहलपहल बढ्दै गएको छ।
अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने यो मार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तर, ङिस्याङ गाउँपालिका–९ अन्तर्गत पर्ने केही खण्डहरू पहिरो सम्भावित र जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन थालेपछि यात्रामा सतर्कता अपनाउनुपर्ने अवस्था छ।
तिलिचो ताल अवलोकन गर्न जाने अधिकांश पर्यटक यही मार्ग हुँदै यात्रा गर्छन्। उच्च हिमाली सौन्दर्य, हिमश्रृङ्खलाको दृश्य र साहसिक पदयात्राको अनुभवका कारण यो रुट पछिल्ला वर्षहरूमा अझ लोकप्रिय बन्दै गएको छ। तर, भौगोलिक बनावटका कारण केही स्थानहरूमा बारम्बार पहिरो र ढुंगाखस्ने जोखिम रहने भएकाले यात्रुहरूको सुरक्षालाई चुनौती थपिएको छ।
तिलिचो ताल क्षेत्र प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि विश्वमै परिचित गन्तव्य हो।