कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री जनकल्याण आधारभूत विद्यालय, सुनहीका विद्यार्थीहरूलाई स्टेशनरी तथा विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकको सर्दी शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गरेका थिए। विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरू लाभान्वित भएका छन्।
वितरण गरिएका सामग्रीहरूमा वर्णमाला तथा अंक सम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन तथा महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल, बालबालिकाका लागि खेलमुखी अध्ययन सामग्री तथा अन्य शैक्षिक उपकरणहरू समावेश छन्। कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। साथै, यस्ता पहलले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल बढाउने र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
त्यस्तै, क्षेत्र प्रमुख भण्डारीले यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप प्रेरणा र सहजता ल्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा समेत सरोकारवालासँग सहकार्य गर्दै यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।