Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

पार्टीले ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको विष्णु पौडेलको स्वीकार

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन् । २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामीले धेरै सफलता र असफलता पार गरेका छौँ । यस पटक ठुलो धक्का व्यहोरेका छौँ, यसबाट हामीले शिक्षा लिन्छौं र हामी फेरी यसलाई चिरेर पुनः उठ्छौँ ।’

उनले उग्र वामपन्थी सोचबाट लोकतान्त्रिक उपलब्धि गुम्न सक्ने चेतावनी दिए । उनले शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट राजतन्त्रको अन्त्य संविधान सभाको निर्वाचन आफू नेतृत्वमा सरकार निर्माण गर्ने त्यो अवसर र संविधान सभा बाट निर्माण गरेर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक ढङ्गले समाज रूपान्तरण एउटा अवसर प्राप्त भएको छ यो अवसरलाई उग्र वामपन्थी गल्तीहरू गरेर यो अवसरलाई नगुमाउन सल्लाह दिएको थिएँ ।’ उनले थपे,‘उनीहरुले मान्नु भएन उनले प्रधान सेनापति हटाउन खोज्नु भएको थियो तर हटाउन सक्नु भएन तर उनी आफै सरकारको नेत्यृतेबाट हट्नु पर्ने अवस्था सिर्जना भयो । उग्र वामपन्थीको नतिजा कहिले पनि राम्रो हुदैन् ।’

उनले तत्कालीन सत्तासँग सम्बन्धित घटनाहरू स्मरण गर्दै गलत निर्णयले नेतृत्व नै संकटमा पर्ने अवस्था आउने चेतावनी दिए ।