Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आर्थिक अवस्था सुदृढ बनाउन अन्तर्राष्ट्रिय मित्रहरूसँग सहकार्य आवश्यक छ : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई सुख,शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । नव वर्षको पूर्वसन्ध्यामा सोमबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले देशलाई प्रगतिपथमा अघि बढाउन स्थिरता,निरन्तरता र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । 

विगतका कमजोरी र त्रुटिहरूलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले पछिल्ला वर्षहरूमा अपेक्षित विकास हुन नसकेको भन्दै राजनीतिक तथा प्रशासनिक परिवर्तनहरू प्रभावकारी बन्न नसकेको धारणा व्यक्त गरेका छन् । देशमा बारम्बार प्रयोग र अभ्यास हुने प्रवृत्तिले स्थायित्व कमजोर बनेको उनको भनाइ छ ।

सन्देशमा राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो सहभागितालाई सकारात्मक रूपमा लिँदै शिक्षित र प्रविधिमैत्री युवाहरूको आगमनले राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्- 'वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेयौ तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुन्यौ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पन्य। सधैं प्रयोग, सधै अभ्यास र सधै विकल्पको खोजीमा मात्र हामी लाग्यो । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो ।

विधि,पद्धति,व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ,'शुभकामना सन्देशमा भनेका छन्,'राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ।'

पूर्वराजा शाहले हाल देश विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै आर्थिक अवस्था सुदृढ बनाउन,छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मित्रहरूसँग सहकार्य बढाउन आवश्यक रहेको बताएका छन् । साथै आन्तरिक सुरक्षालाई सुदृढ बनाउँदै नागरिकको जीउधनको सुरक्षा,अत्यावश्यक वस्तुको आपूर्ति तथा मानवीय सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

पूर्वराजा शाहले सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान आवश्यक रहेको बताउदै नेपाललाई शान्ति, उन्नति र मौलिक पहिचानसहितको समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।