Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घरमै बसेर पूर्ण बैंकिङ्ग अनुभव दिने सिटिजन्स बैंकको डिजि बैंक

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको नयाँ युगको सुरुवात गर्दै ‘Citizens DiziBank’ नामक एकीकृत प्लेटफर्म सार्वजनिक गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्थापना सन् २००७ मा भएको हो।

स्थापना कालदेखि नै एटीएम, इन्टरनेट बैंकिङ्ग, र एसएमएस बैंकिङ्ग जस्ता सुविधा ल्याएर डिजिटल बैंकिङ्गको यात्रा तय गरेको उक्त बैंकले ग्राहकहरूलाई सेवा छनोटमा भइरहेको अन्योल हटाउन र एकै ठाउँबाट सम्पूर्ण सुविधा प्रदान गर्नका लागी छुट्टै ओम्नी च्यानलको अवधारणा ल्याइएको बैंकले जनाएको छ।

करीब ६ महिनाको गहन अनुसन्धान र परीक्षणपश्चात् नोभेम्बर २०२५ मा औपचारिक रूपमा लन्च गरिएको यस प्रणालीमा सुरुवातमा ५० वटा डिजिटल सेवाहरू मात्र समावेश गरिएका थिए। हाल यी सुविधाहरू क्रमशः थपिँदै लगिएको बैंकले जनाएको छ । ग्राहकको सहजताका लागि एपमा अत्याधुनिक 'सर्च बार' को सुविधा समेत उपलब्ध छ। जसले गर्दा ग्राहकहरूले आफूलाई चाहिएको सेवा तुरुन्तै भेटाउन सक्छन्।

सिटिजन्स बैंकको डिजि बैंक परम्परागत शाखामा आधारित बैंकिङ्ग प्रणालीको आधुनिक विकल्प भएको उक्त बैंकको दाबी छ । यसको मुख्य उद्देश्य भनेको ग्राहकहरू बैंकको शाखामा नगइकन  घरमै बसेर पूर्णरूपमा बैंकिङ्ग अनुभव लिन पाउनु हो। उक्त प्लेटफर्ममार्फत ग्राहकले विभिन्न सुविधाहरू लिन सक्नेछन् ।

नयाँ खाता खोल्ने र विवरण अद्यावधिक गर्ने।
डिम्याट वा लकर सेवाका लागि आवेदन दिने।

डेबिट/क्रेडिट कार्ड अनुरोध गर्ने।
रकम ट्रान्सफर र विभिन्न बिल भुक्तानी गर्ने। 

यी सेवाहरू मोबाइल एप वा वेब पोर्टल दुवै माध्यमबाट २४ सै घण्टा प्राप्त गर्न सकिन्छ। जसले ग्राहकको समय बचत गर्नुका साथै लाइनमा बस्नुपर्ने झन्झटलाई हटाएको छ। ग्राहकले 'Citizens Smart' एप डाउनलोड गरेर वा वेब पोर्टल मार्फत सजिलैसङ्ग डिजि बैंक प्रयोग गर्न सक्छन्।

बैंकका अनुसार यो प्रणाली अत्यन्तै प्रयोगकर्ता मैत्री छ र कुनै समस्या परेमा हेल्पलाइन वा शाखाका कर्मचारीमार्फत तुरुन्तै सहयोग लिन सकिने व्यवस्था छ। लोन सेवामा पनि सिटिजन्स बैंकको डिजि बैङ्कले नयाँ अध्याय सुरु गरेको छ। ‘Citizens QR Merchant Loan’ लिन र अरु लोनका लागि पनि प्रारम्भिक आवेदन डिजिटल रूपमा दिन सकिन्छ, आवश्यक कागजातहरू अपलोड गर्न सकिन्छ  र बैंकको क्रेडिट विभागले मूल्यांकन गरी स्वीकृति दिन्छ। ठूलो रकम वा जटिल लोनका लागि भने प्रत्यक्ष सम्पर्क आवश्यक हुने बैङ्कले जनाएको छ। 

ग्राहकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिएको बैङ्कले जनाएको छ । डिजि बैंक सिटिजन्स बैंकको आफ्नै आन्तरिक स्रोतबाट निर्मित प्लेटफर्म भएकाले यसमा डाटा सुरक्षाका विश्वस्तरिय मापदण्डहरू अपनाइएको बैंकको दाबी छ।  ग्राहकको आवश्यकता अनुसार सेवालाई अझ स्तरिय बनाउनका लागि निरन्तर गृहकार्य भइरहेको सिटिजन्स बैंकले जनाएको छ। KYC प्रक्रिया अझ सजिलो बनाउने र कृत्रिम बुद्धिमत्तालाई प्रयोग गरी सेवालाई अझ सहज बनाउने तयारी भइरहेको सिटिजन्स बैंकको भनाई छ। विना झन्झट आधुनिक सेवा दिने उद्देश्यका साथ सुरु गरिएको यो प्लेटफर्म नेपाली बैंकिङ्ग क्षेत्रमा कोशेढुङ्गा सावित हुने देखिएको छ।