Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन् । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ सिधै अस्पताल पुगेका हुन् ।

अस्पतालमा उपचाररत घाइतेलाई भेट्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले आन्दोलनका घाइतेलाई निस्शुल्क उपचार सेवा उपलब्ध गराएकोमा केएमसीका सञ्चालक एवं पूर्वसांसद डा. सुनिल शर्मालाई विशेष धन्यवाद दिए ।

sudan2.jpg


गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि एक्सनमा देखिएका मन्त्री गुरुङ राति १० बजे अस्पताल पुगेका थिए । डा। शर्माले अधिकांश घाइते डिस्चार्ज भइसकेको र केही गम्भीर घाइते अझै होसमा नआएकाले उनीहरूको अस्पतालमै राखेर निस्शुल्क उपचार भइरहेको जानकारी गराएका थिए ।

भेटका क्रममा डा. शर्माले भने, “तपाईं आफैँ आएर बिरामीको अवस्था बुझ्नुभयो, यसले उनीहरूमा थप ऊर्जा दिएको छ । यहाँ ल्याइएका सबै घाइतेको उपचार मैले निस्शुल्क गर्ने व्यवस्था मिलाएको छु ।” जवाफमा गृहमन्त्री गुरुङले घाइतेहरूको घाउमा मलम लगाएकोमा प्रशंसा गर्दै डा। शर्मालाई अंकमाल गरेर धन्यवाद व्यक्त गरे । “तपाईंले घाइतेलाई मात्र होइन, उनीहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ,” मन्त्री गुरुङले भने, “यो सेवामा कमी नहोस्, मानवताका लागि तपाईंले देखाएको यो कार्यप्रति सधैँ सम्मान छ ।”

sudan 1.jpg

मन्त्री गुरुङले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले पनि यस्ता विषयलाई गम्भीरतापूर्वक लिने आश्वासन दिएका छन् ।