प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।
भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे विस्तृत छलफल भएको थियो।
गभर्नरका स्वकीय सचिव अधिकारीका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कसैको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिएका छन्।
ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणमा हुने गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन पनि उनले भनेका छन्।
छोटो समयमा धेरै परिणाममुखी काम गर्नुपर्ने भएकाले समस्या कहाँ छन् र समाधान के हुन सक्छ भन्ने स्पष्ट बुझाइ बनाउन पनि प्रधानमन्त्री बालेनले गभर्नरलाई भनेका छन्।
भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषय उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए ।