प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको केहीबेरपछि शपथ हुँदैछ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन् ।
निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यस पटक १४ जना सांसदहरु दोहोरिनेछन् ।
पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा थिए । यसैगरी, दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा. तोसिमा कार्की छिन् । उनीहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित छन् ।
यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिएका हुन्। सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद हुन् ।
नेकपा (एमाले)का २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल ‘प्रचण्ड’, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिएका हुन् ।
राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिएका छन् । उनी सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद छन् ।