सानिगाड हाइड्रो कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन सुरु गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो।
उक्त सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र अन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दालाई छुट्याइएको छ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा बाँडफाँट गरिनेछ।
कम्पनीले कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँ मूल्यको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको जनाएको छ।
यसैगरी, सर्वसाधारण समूहका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा चैत २२ गतेदेखि ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ११ गतेदेखि चैत २२ गतेसम्म आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङस्थित शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, बुंगलस्थित पावर हाउस विरावगरबाट पनि आवेदन सुविधा उपलब्ध गराइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
https://janawatch.com/news/19694/