विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेसँग धरौटी मागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र विशेष अदालतमा आरोपबारे इन्कारी बयान दिएको भन्दै अदालतले यो निर्णय गरेको बताइएको छ ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैंया गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ। गत २८ मंसिरमा उनीमाथि मुद्दा दायर भएको थियो। उनी संसद्को अर्थ समितिका निवर्तमान सभापतिसमेत हुन् ।
अख्तियारले गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका बेलामा गैरकानुनी आर्जन गरेको आरोप लगाएको थियो। उनलाई सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर गरिएको छ। आठ करोड ५६ लाख रुपैंयाको सम्पत्ति मध्ये चार करोड ८८ लाख मात्रै वैध रूपमा आर्जन भएको अख्तियारको दाबी छ। यसअनुसार ३ करोड ६८ लाख रुपैंया गैरकानुनी आर्जन भएको ठहर गरिएको छ ।
अख्तियारले सन्तोषसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ। चालिसे जेठ २०७४ देखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए। अख्तियारले उनीमाथि सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई छिपाएर झुट्टा विवरण पेश गरेको आरोप समेत लगाएको छ।