मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित भएका छन्।हालै सम्पन्न निर्वाचनमा उनले ३० हजार ५० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए। उप्रेतीको विजयसँगै उनी प्रतिनिधिसभाका ‘कान्छो सांसद’को रूपमा चर्चामा आएका छन्। युवावस्थामै संसद् पुग्न सफल भएका उनी नयाँ पुस्ताका प्रतिनिधि नेताको रूपमा चिनिन थालेका छन्।
प्रशान्त उप्रेतीको जन्म मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ७ मा भएको हो। सामान्य परिवारमा हुर्केका उनले सानैदेखि समाजसेवा र शिक्षाप्रति रुचि राखेका थिए। उनी पेसाले पूर्वशिक्षक समेत हुन्। शिक्षण पेशामा रहँदा उनले विद्यार्थीहरूलाई पढाउने मात्र नभई सामाजिक चेतना फैलाउने काममा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।
शैक्षिक यात्राको कुरा गर्दा उप्रेतीले काठमाडौंस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट प्लस टू सम्मको अध्ययन पूरा गरेका छन्। त्यसपछि उनले ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) अध्ययन गरेका थिए। हाल उनी काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनमा अध्ययनरत छन्। शिक्षा र समाज परिवर्तनबीचको सम्बन्धलाई बुझ्दै उनले आफ्नो अध्ययनलाई सामाजिक अभियानसँग जोडेर अघि बढाएका छन्।
उप्रेतीको सामाजिक सक्रियता विद्यार्थी जीवनदेखि नै सुरु भएको हो। उनले “आमा घर” र “सामुदायिक सचेतना नेपाल” जस्ता संस्थामार्फत विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै अनुभव हासिल गरेका थिए। समाजका विपन्न वर्ग, बालबालिका तथा महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै उनले समाजसेवामा आफ्नो पहिचान बनाएका छन्। यसका अलावा उनी “मैनादेवी फाउण्डेसन” र “हन्ड्रेड ग्रुप” जस्ता संस्थासँग पनि आबद्ध भएर सामाजिक र युवा लक्षित गतिविधिहरूमा सक्रिय रहे। युवाहरूलाई समाज निर्माणमा सहभागी गराउने, सामाजिक सचेतना फैलाउने र स्थानीय समस्याको समाधान खोज्ने अभियानमा उनी निरन्तर लागिपरेका थिए।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हुँदा त्यहाँको टिमसँग सहकार्य गर्दै विभिन्न अभियानमा पनि संलग्नता जनाएका थिए। त्यस्तै निवर्तमान, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको समूहसँग समेत सहकार्य गर्दै उनले युवासँग सम्बन्धित कार्यक्रमहरूमा योगदान दिएका थिए। यी अनुभवहरूले उनलाई सामाजिक तथा राजनीतिक क्षेत्रमा अझ सक्रिय बन्न प्रेरित गरेको बताइन्छ।
राजनीतिमा प्रवेशसँगै उप्रेतीले शिक्षा सुधार, युवाका लागि रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा स्थानीय तहको आवश्यकता अनुसार विकास योजना कार्यान्वयनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्। चुनावी अभियानका क्रममा उनले पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
“म बोल्नेभन्दा काम गर्नेमा विश्वास राख्छु। शिक्षा, पर्यटन र सामाजिक सेवामा गरेको प्रत्यक्ष अनुभवका आधारमा पारदर्शी र जनमुखी नेतृत्व प्रदान गर्ने मेरो प्रतिबद्धता छ,” भन्ने उनको भनाइ चुनावी अभियानमा निकै चर्चित बनेको थियो। युवाको प्रतिनिधित्व गर्दै संसद् पुगेका प्रशान्त उप्रेतीले अब आफ्नो प्रतिबद्धता व्यवहारमा कत्तिको उतार्छन् भन्ने कुरा भने आगामी दिनमा देखिनेछ। तर उनको विजयले नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय भएको संकेत भने अवश्य दिएको छ।