Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नैतिकता बेचेर ‘अन्तिम चुनाव’को बाचा तोड्ने नेताहरू : जनविश्वासमाथि प्रहार गर्दै

निर्वाचन नजिकिँदै जाँदा जनतासँग गरिएका पुराना बाचा, प्रतिबद्धता फेरि चर्चामा आएका छन्। विशेषतः “यो मेरो अन्तिम चुनाव हो” भन्दै मत मागेका नेताहरू पुनः उम्मेदवार बनेपछि राजनीतिक नैतिकता र जनविश्वासमाथि गम्भीर प्रश्न उठेको छ। घोषणापत्रका वाचा पूरा नगर्नु त नेपाली राजनीतिमा पुरानै रोगजस्तै भइसकेको छ, तर आफ्नो व्यक्तिगत घोषणा,चुनाव नलड्ने बाचासमेत सजिलै तोडिनु झन् चिन्ताजनक विषय हो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका सह-संयोजक माधवकुमार नेपालले रौतहट-१ का मतदातासँग यो आफ्नो अन्तिम चुनाव भएको भन्दै भावनात्मक अपिल गरेका थिए। उनले त्यसबेला अब पुनः चुनाव नलड्ने घोषणा गर्दै मत मागेका थिए। मतदाताले विश्वास गरेर उनलाई विजयी पनि बनाए। तर अहिले उनी फेरि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। प्रश्न उठ्छ यदि त्यो बाचा साँचो थियो भने अहिलेको निर्णय के हो ? र यदि अहिलेको निर्णय सही हो भने त्यो बेलाको घोषणा के थियोर ?

यस्तै, नेकपाका अर्का नेता महेन्द्रराय यादवले सर्लाही-२ मा गत चुनाव प्रचारका क्रममा आफ्नो स्वास्थ्यले साथ नदिने भन्दै यो अन्तिम चुनाव भएको बताएका थिए। तर अहिले उनी फेरि उम्मेदवार बनेका छन्। उनले “जनताको चाहना र पार्टीको आग्रह” लाई कारण देखाएका छन्। तर के जनताको चाहना नेताको व्यक्तिगत नैतिक प्रतिबद्धताभन्दा माथि हुन सक्छर ?  कि जनताको नाममा व्यक्तिगत स्वार्थ लुकाइएको हो ?

जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले पनि महोत्तरी-२ का मतदातासँग आफ्नो राजनीतिक विश्रामको घोषणा गरेका थिए। ४४ वर्षको राजनीतिक जीवनमा १० पटक उम्मेदवारी दिएर ८ पटक विजयी भएका र २० पटक मन्त्री बनेका उनले विश्राम लिने बताए पनि फेरि मैदानमा उत्रिएका छन्। यसले राजनीतिमा पुस्तान्तरण र नयाँ नेतृत्वको अवसरप्रति उनीहरूको प्रतिबद्धता कति कमजोर छ भन्ने प्रश्ट देखाउँछ।

त्यस्तै, नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले केही महिना अगाडी एक सार्वजनिक कार्यक्रममा फागुन २१ मा चुनाव भए राजनीति छाड्ने घोषणा गरेका थिए। तर अहिले उनी मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। चुनाव हुन अब केही दिन मात्र बाँकी छ, तर राजनीति छाड्ने घोषणा भने अलपत्र परेको छ।

यी घटनाले देखाउँछ कि चुनावी मैदानमा “अन्तिम पटक” र राजनीति छोड्छु भन्ने शब्द भावनात्मक हतियार जस्तै प्रयोग भइरहेको छ। मतदातालाई संवेदनशील बनाउने, सहानुभूति बटुल्ने र जित सुनिश्चित गर्ने रणनीतिका रूपमा यस्तो भाषण प्रयोग हुने गरेको छ। तर जब बाचा नै सजिलै तोडिन्छ, त्यसले जनतामा राजनीतिप्रतिको अविश्वास झन् गहिरो बनाउँछ। राजनीतिमा परिस्थिति परिवर्तन हुन सक्छ, निर्णय फेरिन सक्छ। तर सार्वजनिक रूपमा गरिएको स्पष्ट घोषणा उल्ट्याउँदा कम्तीमा आत्मआलोचना, स्पष्ट स्पष्टीकरण र जनतासँग क्षमायाचना अपेक्षित हुन्छ। अन्यथा, यो व्यवहारले नेताहरूको शब्दप्रति कुनै जिम्मेवारी छैन भन्ने सन्देश दिन्छ।

लोकतन्त्रको आधार नै जनविश्वास हो। यदि बाचा केवल चुनाव जित्ने औजार मात्र बन्ने हो भने, त्यो लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण संकेत हो। अब निर्णय मतदाताको हातमा छ। भावनात्मक नारामा कहिले सम्म बहकिने ?