Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अन्तर्वार्ता:

म "टुरिस्ट उम्मेदवार" होइन: गोरख बहादुर विष्ट

"निर्वाचन प्रतिस्पर्धा हो, तर मैले कसैलाई कमजोर ठान्ने संस्कार राख्दिनँ"

नेपाली कांग्रेसका नेता गोरख बहादुर विष्ट (आनन्द) ले आफूलाई ‘टुरिस्ट उम्मेदवार’ भन्ने आरोप पूर्णतः कपोलकल्पित र राजनीतिक प्रतिस्पर्धाको उपज भएको बताएका छन्।कैलाली-४ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्टले विगत दुई दशकदेखि निरन्तर पार्टी संगठन र सामाजिक कार्यमा सक्रिय रहेको दाबी गर्दै आफू चुनावका बेला मात्र देखिने व्यक्ति नभएको स्पष्ट पारेका छन।

डोटीको जोरायल गाउँपालिकामा २०२९ सालमा जन्मिएका विष्टले २०४६ सालको जन-आन्दोलनताका अध्ययनका सिलसिलामा भारतको दिल्लीमा रहँदा नेपाली दूतावास घेराउलगायत कार्यक्रममार्फत प्रजातन्त्र स्थापनाको आन्दोलनमा सहभागी भएको बताएका छन्। साथै २०६३ सालको जन-आन्दोलनका क्रममा पनि अन्तर्राष्ट्रिय तहमा सक्रिय भूमिका खेलेको उनको भनाइ छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालमा गणतन्त्र स्थापनाका लागि अपिल गरेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तर संघर्ष र प्रतिबद्धतासँग जोडेर प्रस्तुत गरेका छन्।

सबै दल लोकतान्त्रिक प्रक्रियाका सहभागी हुन् र सबैको अस्तित्व स्वीकार गर्नुपर्छ। आफू आफ्ना मुद्दा लिएर मतदातामाझ जाने र जनताको विश्वास जित्नु नै आफ्नो प्राथमिकता

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय विष्ट ११औँ, १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य पनि हुन्। यसअघि केन्द्रीय कार्यसमिति सदस्यको जिम्मेवारी पनि सम्हालिसकेको बताउँदै उनले संगठन निर्माणमा आफ्नो योगदान उल्लेखनीय रहेको दाबी गरे।

टुरिस्ट उम्मेदवार’ आरोपको खण्डन
विष्टले ‘टुरिस्ट उम्मेदवार’ भन्ने आरोपलाई अस्वीकार गर्दै भने - आज हरेक नेपाली परिवारका छोराछोरी विदेशमा छन्। कोही बाध्यताले, कोही अध्ययनका लागि, कोही रोजगारीका लागि। विदेशमा सिकेको ज्ञान र कमाएको सीप लिएर स्वदेश फर्केर सेवा गर्न खोज्ने व्यक्ति कसरी टुरिस्ट हुन्छ? उनले प्रश्न गरे

उनका अनुसार आफू विगत दुई दशकदेखि वर्षमा चार-पाँच पटक नेपाल आउने गरेको र संगठन तथा सामाजिक गतिविधिमा संलग्न रहँदै आएको बताए। कोरोना महामारी र भूकम्पजस्ता विपद्का बेला प्रत्यक्ष रूपमा सहयोग गरेको दाबी गर्दै उनले आफू संकटका घडीमा पनि जनतासँगै रहेको बताए।

भौतिक र डिजिटल पूर्वाधार सँग-सँगै

कैलाली-४ जस्तो क्षेत्रमा सडक र बिजुलीको समस्या विद्यमान रहँदा फ्री वाइफाइ जोन र ई–लाइब्रेरीको कुरा गर्नु कत्तिको यथार्थपरक हो भन्ने प्रश्नमा विष्टले विकासका पूर्वाधारहरू पूरक हुने बताए।

सडक पनि प्राथमिकता हो, बिजुली पनि प्राथमिकता हो, सञ्चार पनि उत्तिकै प्राथमिकता हो उनले भने। उनका अनुसार दुर्गम क्षेत्रमा १२ महिना चल्ने सडक निर्माण गरी चरणबद्ध रूपमा स्तरोउन्नति र कालोपत्रे गर्नुपर्छ। साथै जहाँ नेटवर्क कमजोर छ, त्यहाँ सेवा विस्तार गर्न पहल आवश्यक रहेको उनको भनाइ छ।

विष्टले डिजिटल पहुँचलाई आजको आवश्यकता बताउँदै शिक्षा, स्वास्थ्य र सूचना प्रवाहका लागि इन्टरनेट अपरिहार्य भइसकेको उल्लेख गरे। स्थानीयतह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी भौतिक तथा डिजिटल पूर्वाधार सँगसँगै अघि बढाउनुपर्ने उनको जोड छ।

युवाले अब विदेश मात्र होइन, स्वदेशमै सम्भावना देख्नुपर्छ

प्रतिस्पर्धा मुद्दामा हुनुपर्छ, व्यक्तिमा होइन

आगामी निर्वाचनमा आफ्नो प्रमुख प्रतिस्पर्धी को हो भन्ने प्रश्नमा विष्टले कसैलाई कमजोर नदेख्ने बताए। निर्वाचन प्रतिस्पर्धा हो, तर मैले कसैलाई कमजोर ठान्ने संस्कार राख्दिनँ - उनले भने। उनका अनुसार सबै दल लोकतान्त्रिक प्रक्रियाका सहभागी हुन् र सबैको अस्तित्व स्वीकार गर्नुपर्छ। आफू आफ्ना मुद्दा लिएर मतदातामाझ जाने र जनताको विश्वास जित्नु नै आफ्नो प्राथमिकता भएको उनले स्पष्ट पारे।

मतदाताले किन मत दिने?

विष्टले देश अहिले रूपान्तरणको चरणमा रहेको र युवाको नेतृत्व खोजिरहेको दाबी गरे। आफू स्थानीय परिवेशमा हुर्केको र नेपालसँगै अन्तर्राष्ट्रिय अनुभव बुझेको व्यक्ति भएको उनले उल्लेख गरे।

विदेशमा सिकेको शिक्षा, स्वास्थ्य र विकासको मोडेललाई स्वदेशमा लागू गर्न सकिन्छ। सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई अवसर दिने नीति आवश्यक छ। उनले भने। उनका अनुसार राजनीति युवाका लागि भविष्य देखिने क्षेत्र बन्नुपर्छ। युवाले अब विदेश मात्र होइन, स्वदेशमै सम्भावना देख्नुपर्छ- उनले जोड दिए।

रोजगारी सिर्जनामा जोड

कैलाली-४ का युवाहरू रोजगारीका लागि भारत तथा अन्य देश जाने क्रम रोक्न आफ्नो योजना के छ भन्ने प्रश्नमा विष्टले संघीय सरकारले सशक्त रोजगार नीति ल्याउनुपर्ने बताए। विदेशमा सिकेको सीप र ज्ञान स्वदेशमै उपयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

४५ डिग्रीको घाममा काम गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ। उनले भने। स्थानीय तहसँग सहकार्य गरी उत्पादन, साना उद्योग, कृषि आधुनिकीकरण र सूचना प्रविधि क्षेत्रमा अवसर सिर्जना गर्नुपर्ने उनको योजना छ।

नेपाललाई सूचना प्रविधि (आईटी) हबका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै उनले भारतलाई आईटी हब बनाइएको उदाहरण दिए। भारत आईटी हब बन्न सक्छ भने नेपाल किन सक्दैन? उनले प्रश्न गरे।

पार्टीभित्र एकता रहेको दाबी

पूर्व सांसद वीरबहादुर बलायरको सहयोगबारे सोधिएको प्रश्नमा विष्टले कैलाली-४ मा पार्टीभित्र उच्च स्तरको एकता रहेको दाबी गरे। प्रदेश सभापति तथा पूर्व सांसद वीरबहादुर बलायरसहित सबै नेताको साथ र समर्थन रहेको उनले बताए। कुनै नेताले असन्तुष्टि जनाउनुभएको छैन। 'सबै सक्रिय रूपमा लाग्नुभएको छ' उनले भने।

सामाजिक सञ्जाल र मतदाता
सामाजिक सञ्जालमा देखिएको रास्वपाको लहरबारे टिप्पणी गर्दै विष्टले सामाजिक सञ्जालको प्रभावलाई स्वीकार गरे पनि अन्ततः मतदाता प्रत्यक्ष सम्पर्कबाट प्रभावित हुने बताए। सामाजिक सञ्जालले होइन, जनताले भोट दिने हो- उनले भने। घरदैलो अभियानमा सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै उनले जनताले पढे-लेखेको र अन्तर्राष्ट्रिय अनुभव भएको उम्मेदवार खोजिरहेको बताए।

मित्रवत् प्रतिस्पर्धाको पक्षमा

चुनावी प्रचारमा गाली-गलौजको प्रवृत्ति बढ्दै गएको विषयमा विष्टले आफू मित्रवत् प्रतिस्पर्धाको पक्षमा रहेको बताए। प्रमुख प्रतिस्पर्धीलाई फोन गरेर मित्रवत् ढंगले चुनाव लड्न प्रस्ताव गरेको उनले जानकारी दिए। म आफ्ना मुद्दा लिएर जनतामाझ जान्छु। गाली गरेर समय खेर फाल्दिनँ उनले स्पष्ट पारेका छन्। अरूलाई कमजोर देखाएर फाइदा लिन खोज्ने शैली आफूले नअपनाउने उनको भनाइ छ।

संघ-प्रदेश-स्थानीय समन्वय

विकासका काममा तीन तहका सरकारबीच कसरी समन्वय गर्ने भन्ने प्रश्नमा विष्टले प्रतिनिधिसभा सदस्यले जनताको घरआँगनका साना समस्यासमेत सुन्नुपर्ने बताए। नीति निर्माणसँगै स्थानीय समस्याको समाधानमा पनि संघीय सांसद सक्रिय हुनुपर्ने उनले उल्लेख गरे।

युवामैत्री एजेन्डा

युवा मतदातालाई आकर्षित गर्ने आफ्नो मुख्य एजेन्डा सुशासन, भ्रष्टाचार अन्त्य र योग्यतामा आधारित अवसर सिर्जना रहेको विष्टले बताए। सिफारिस र पहुँच नभई काम नहुने संस्कार अन्त्य गर्नुपर्छ उनले भने।

युवालाई डिजिटल युगअनुसार सक्षम बनाउने, सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले देश विकासका लागि सबै दलसँग सहकार्य गर्न तयार रहेको बताए। युवाको ऊर्जा र अनुभवको समन्वयबाट नयाँ ढंगले काम गर्नुपर्छ। उनले निष्कर्ष सुनाए।

कैलाली-४ को चुनावी मैदानमा आफू मुद्दा, अनुभव र कार्यक्षमताको आधारमा उत्रिएको दाबी गर्दै विष्टले मतदाताको मन जित्ने विश्वास व्यक्त गरेका छन्। आगामी निर्वाचनले युवाको नेतृत्व र विकासको नयाँ दिशा तय गर्ने उनको अपेक्षा छ।