राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको बाचापत्रमा उक्त कुरा उल्लेख गरेको हो ।
आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गरिने बाचापत्रमा उल्लेख छ ।
राज्यका तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरेर संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानी दिने व्यवस्था मिलाइने रास्वपाको बाचापत्रमा उल्लेख छ ।
व्यक्तिलाई थुनेर भन्दा पनि नीतिअनुसार सहकारी वित्तीय संस्थाका सञ्चालक बचतकर्ताको रकम फिर्ता गर्न तयार भए मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिने पनि बाचापत्रमा उल्लेख गरिएको छ ।
‘यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिने पनि रास्वपाको बाचापत्रमा उल्लेख छ ।