राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् । उनले आज पार्टीको साधारण सदस्यसमेत नरहने गरी महामन्त्रीसमक्ष राजीनामा दिएको घोषणा गरेका हुन् ।
हुमागाईँ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । उनले राजीनामा पत्रमार्फत पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन् । उनले उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण तथा आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको आरोप लगाएका छन् । पार्टीमा लामो समयदेखि सक्रिय र समर्पित कार्यकर्तालाई पाखा लगाउँदै अन्य दलबाट हालै आएका व्यक्तिलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
राजीनामा पत्रमा उनले स्वार्थका आधारमा उम्मेदवार चयन गरिएको आरोपसमेत लगाएका छन् । पार्टीले योग्य र सक्षम व्यक्तिलाई अवसर दिने प्रतिबद्धता गरे पनि व्यवहारमा सीमित समूहलाई मात्रै प्राथमिकता दिइएको उनको दाबी छ ।
हुमागाईँले अघिल्लो निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए । पछिल्लो समय उम्मेदवार चयन प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै रास्वपा छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ । यसअघि रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए ।