Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन : प्रधानमन्त्री कार्की

युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उनले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि बताइन् ।

‘प्रजातन्त्रको वास्तविक झल्को अन्त कहीँ होइन, आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

अगाडि उनले भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु– युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन । युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन । त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको पनि बताइन् । कजुट हुन अपील समेत गरिन् ।

‘लोकतन्त्र प्रक्रिया मात्र होइन’

लोकतन्त्र भनेको केवल प्रक्रिया मात्र नभई नतिजा दिनुपर्नेमा उनले जोड दिइन् । विधिको शासनमा जोड दिँदै उनले भनिन्, ‘प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो ।’

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ को घटनापपछि गठन भएको सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको भन्दै सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा प्रयासहरू अभिमुख रहेको बताइन् ।