नेकपा संयुक्तले शिवरात्रिका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित परेडमा अमेरिकी सेनाको सहभागिताप्रति प्रश्न उठाएको छ। पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्वका विषयमा सरकारले बेवास्ता गर्न नहुने बताएका हुन्।
विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था निर्वाचनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै नेपाली सेना दिवस तथा शिवरात्रिको अवसरमा आयोजित परेडमा अमेरिकी सेनाको सहभागिताले सर्वसाधारणमा चासो, चिन्ता र प्रश्न उत्पन्न भएको जनाइएको छ। साथै, यस विषयमा नेपाली सेनाको तर्फबाट स्पष्टीकरणसमेत आइसकेको उल्लेख गरिएको छ।
संयुक्तले निर्वाचनको समयमा सरकारको भूमिका निष्पक्ष हुनुपर्ने बताउँदै चुनावी सरकारका रूपमा निर्वाचनमा निष्पक्षता प्रदर्शन गर्नु सरकारको संवैधानिक तथा नैतिक दायित्व भएको जनाएको छ। राष्ट्रिय चासोका यस्ता विषयलाई बेवास्ता नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा विगतमा पटक–पटक सत्तामा पुगेका दल तथा तिनका नेताले विदेश सम्बन्धलाई सत्ता स्वार्थसँग जोडेको इतिहासको आत्ममूल्यांकन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, नयाँ राजनीतिक दलहरूले पनि यस्ता संवेदनशील भूराजनीतिक विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने नेकपा संयुक्तको माग छ।