Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चुनावकै मुखमा रास्वपालाई धक्का, प्रणय शमशेर राणाले छोडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन्। विहिबार राजीनामाको घोषणा गर्दै राणाले पार्टीमा विशेष परिस्थितिको नाममा भएको बेथितिलाई मुखदर्शक भएर हेर्न नसक्ने भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।    

उनले भनेका छन्-  मेरो राजीनामाको निर्णयबाट  प्रभावित हुने स्वदेश र विदेशमा रहनुभएका संगठन एवं शुभेच्छुक साथीहरू समक्ष क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरुलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ । अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्ग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न !'

राणाले उम्मेदवार छनौटमा प्राइमेरी चुनाव नगरेको आरोप लगाउदा पार्टीको विधान अनुसार काम नगरेको, आधिकांश केन्द्रमा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरु बेथितिको साझेदार बनेको बताउदै उनले सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहिता नारामा मात्र सिमित भएको र अभ्यासमा नभएको आरोप लगाएका छन्।

राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।