Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अन्तर्वार्ता:

को हुन प्रचण्डलाई चुनौती दिने कुसुम देवी थापा?

प्रचण्डले द्वन्द्वकालमा रुकुमलाई आधार इलाका माने, तर तीन पटक प्रधानमन्त्री हुँदा समस्या जस्ताको तस्तै रह्यो। सत्ता पाएपछि बिर्सिए, कठिनाइ पर्दा मात्र आधार इलाका सम्झिए, त्यसैले उहाँ सफल हुनुहुन्न जस्तो लाग्छ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट चुनावी मैदानमा छन्। प्रचण्डसँग नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम देवी थापा चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन्। २०४८ सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी थापा सक्षम नेताका रूपमा चिनिन्छिन्। उनी ०७९ सालमा समानुपातिक सांसद बनेकी थिइन्।

शैक्षिक रूपमा थापामगरले ग्रामीण विकास र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन्। निवर्तमान सांसद रहेकी उनी संसदमा प्रतिनिधित्व मात्र होइन, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापति समेत रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन्।

संसदमा रहँदा उनले विभिन्न विधेयकमा संशोधन प्रस्ताव राख्दै सक्रिय सहभागिता जनाइन्। जलवायु परिवर्तनसम्बन्धी साझा नीति निर्माणका लागि हिमाली क्षेत्रका आठ देशलाई समेटेर अन्तर्राष्ट्रिय संसदीय सम्मेलन तथा फोरम आयोजना गर्न उनले पहल गरेकी थिइन्। साथै, पूर्वी रुकुमका ३१ वडामध्ये अझै पहुँच मार्ग नपुगेका वडामा सडक विस्तारका लागि बजेट विनियोजन गराउन पनि उनले विशेष भूमिका खेलेकी छिन्।

पूर्वी रुकुममा बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मगर समुदायको मौलिक संस्कृति, भाषा र जीवनशैलीको संरक्षण उनका प्रमुख राजनीतिक मुद्दा हुन्। चुनाव केन्द्रित रहेर नेपाल रैबारका संवाददाता राजेश धामीले कुसुम थापामगरसँग गरेको कुराकानी :

तपाईंको राजनीतिक पृष्ठभूमि के हो? कहिलेदेखि सक्रिय हुनुहुन्छ?

म २०४८ सालदेखि राजनीतिमा सक्रिय छु। म नेवी संघको केन्द्रीय सदस्य, नेपाल भातृ संस्था, नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय संस्थापक सदस्यदेखि केन्द्रीय उपसभापति, महिला संघ लगायत विभिन्न संस्थाहरूमा काम गरें। अहिले भने म नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छु। मेरो राजनीतिक यात्रा नेपाली कांग्रेसबाटै सुरु भएको हो र अहिले पनि म कांग्रेसमै सक्रिय छु।

पूर्वी रुकुमको अवस्थालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ? यहाँका मुख्य समस्याहरू के देख्नुहुन्छ?

पूर्वी रुकुम सबैभन्दा नयाँ र कान्छो जिल्ला हो। नयाँ जिल्ला भए पनि यहाँ आवश्यक पूर्वाधारहरू छैनन्। नौ वटा वडामा अझै पनि पहुँच मार्ग पुगेको छैन। यो भौगोलिक रूपमा निकै अप्ठ्यारो भूभाग हो। कहिले डोल्पा जिल्लामा गाभिने, कहिले बागलुङमा, कहिले रुकुममा-यसरी प्रशासनिक रूपमा अस्थिर रहँदा कुनै पनि ठाउँबाट उचित सेवा सुविधा पाउन सकेन। त्यसपछि छुट्टै जिल्ला बनेको हो।

भौतिक पूर्वाधारको अत्यन्त अभाव छ, राज्यको उपेक्षामा परेको अवस्था छ। त्यसैले मेरो पहिलो एजेन्डा पूर्वाधार विकास हो।

यस जिल्लामा ठूला मगर बस्तीहरू छन्। ५२ पोखरी, ५३ ताल भनेर चिनिने रुकुमको स्यार्पु ताल लगायतका प्राकृतिक सम्पदाहरू यही पूर्वी रुकुममा छन्। यी सम्भावनालाई पर्यटनसँग जोड्न, पर्यटन पूर्वाधार निर्माण गर्न मेरो योजना छ।

अर्को महत्त्वपूर्ण विषय रोजगारी हो। रुकुम पूर्वका धेरै युवा खाडी मुलुकमा छन्, कोही अवैधानिक रूपमा अमेरिका लगायत देशमा गएका छन्। उनीहरू सुरक्षित र स्थिर रोजगारीमा छैनन्। मेरो एजेन्डा ‘नलेज इकोनोमी’ हो। अहिलेसम्म युवाहरूले शारीरिक श्रम गरे, अब उनीहरूलाई आईटी र प्रविधिसँग जोडेर यहीँ प्रविधिमैत्री शिक्षा र तालिम दिएर रोजगारी सिर्जना गर्नुपर्छ। काठमाडौंका युवाले लाखौं कमाउन सक्छन् भने रुकुम पूर्वका युवाले किन नसक्ने?

रुकुम पूर्वमा बहुमूल्य जडीबुटी पाइन्छ। डोल्पासँग जोडिएको यो क्षेत्र नेपालमै सबैभन्दा बढी यार्सा पाइने क्षेत्र हो। यी जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने मेरो योजना छ।

कृषिलाई पनि व्यवसायीकरण गर्नुपर्छ। यहाँ ठूला-ठूला बुकी पाटन छन्, भेडा पालनको राम्रो सम्भावना छ। उच्च नश्लका भेडा ल्याएर बढी ऊन र मासु उत्पादन गर्न सकिन्छ। भेडापालक किसान विस्थापित नहोस् भनेर प्रोत्साहन र भत्ता व्यवस्थाको पहल गर्नेछु।

यहाँ उत्पादन हुने ऊनबाट स्थानीयले बिछ्यौना, ओढ्ने, सिरानी, कपडा बनाइरहेका छन्। यसलाई पश्मिनासँग जोड्न सकियो भने ठूलो सम्भावना छ।

रुकुम पूर्व अर्गानिक जिल्ला हो। रैथाने बालीको संरक्षण गर्दै अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ। अर्गानिक उत्पादनको मूल्य फरक हुन्छ। त्यसलाई बजारमा ब्रान्डिङ गरेर स्थापित गर्ने मेरो प्रयास रहनेछ।

साथै, यहाँका जनताले सरकारबाट पाउनुपर्ने आधारभूत सेवा-सुविधा पाएका छैनन्। गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, विद्युत, टेलिफोन टावर, इन्टरनेट-सबैको समस्या छ। कतिपय ठाउँमा टेलिफोनसमेत टिप्दैन। बालविवाह छ, मातृ तथा शिशु मृत्यु दर उच्च छ।

म यही माटो, यही भूगोल र यही समुदायसँग जोडिएकी भएकाले यी समस्याहरूलाई नजिकबाट अनुभूति गरेको छु। म यसअघि समानुपातिक सांसद थिएँ, तर बजेट निर्माण र योजना छनोट प्रक्रियामा सहभागिता हुँदैन रहेछ। त्यसैले अहिले प्रत्यक्ष निर्वाचनबाट जनताको अनुमोदन लिएर यी समस्या समाधान गर्न चाहन्छु।

राजनीतिमा आउन तपाईंलाई के कारणले प्रेरित गर्‍यो?

मैले एसएलसी पास गरेपछि राजनीतिमा सक्रिय हुन थालेँ। मेरो जन्मस्थान पर्वत हो। कलेज पढ्दा उमा अधिकारी (अहिले उमा रेग्मी) दिदीले २०४८ सालमा पर्वतबाट चुनाव जित्नुभयो। उहाँले विकासका धेरै पूर्वाधार योजना ल्याएर गाउँमै देखिने काम गर्नुभयो। महिलाले पनि राजनीति गरेर समाज परिवर्तन गर्न सकिन्छ भन्ने प्रेरणा मैले त्यहाँबाट पाएँ। परिवार र आफन्तको सहयोगले म निरन्तर राजनीतिमा लागिरहेँ।

पूर्व प्रधानमन्त्री प्रचण्ड पनि यही क्षेत्रबाट हुनुहुन्छ। तपाईंको मुख्य प्रतिस्पर्धी को हुनुहुन्छ?

प्रतिस्पर्धी सबै हुनुहुन्छ, तर मत परिणामका आधारमा हेर्दा पूर्व प्रधानमन्त्री नै मुख्य प्रतिस्पर्धी देखिनुहुन्छ। उहाँले द्वन्द्वकालमा रुकुमलाई आधार इलाका मान्नुभयो। तर २०६४ सालपछि तीन पटक प्रधानमन्त्री हुँदा पनि रुकुमको समस्या ज्यूँका त्यूँ रह्यो।

यदि आधार इलाका मानेको भए, तीन पटक प्रधानमन्त्री हुँदा किन विकास हुन सकेन? जनताले आधारभूत सेवा सुविधा पाएका छैनन्। त्यसैले अब जनताले मूल्यांकन गर्नुहुन्छ भन्ने विश्वास छ।

युवाहरू रोजगारी र सीपका लागि बाहिरिइरहेका छन्। तपाईंको योजना के छ?

‘मिसन रोजगारी’ हाम्रो पार्टीको पनि योजना हो। वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाएर पठाउने, नेपालमै उद्यमशीलता विकास गर्ने, आईटीसँग जोडेर गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ।

पूर्वी रुकुमका जनताले तपाईंलाई किन मत दिने?

मैले ३३ महिना सांसद हुँदा बाटो, पुल, मगर बस्तीको संस्कृति संरक्षण, खानेपानी, लिफ्टिङ योजनाहरू सुरु गरेँ। ती योजनाहरूलाई पूर्णता दिन, ट्रयाक खुलेका बाटोलाई कालोपत्रे गर्न र देखेका समस्याहरू समाधान गर्न मेरो उम्मेदवारी हो।

देशव्यापी रूपमा कांग्रेसको माहोल कस्तो छ? बहुमत ल्याउला?

हामीले विशेष महाधिवेशन सम्पन्न गरिसकेका छौँ। भदौ २३,२४ को जेनजी आन्दोलनले सुशासन, सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणप्रति जनताको असन्तोष देखायो। कांग्रेसले त्यो सन्देश बुझेको छ। नीति र नेतृत्व सुधारेर नयाँ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता गरेको छ। त्यसैले कांग्रेसले बहुमत ल्याउने हाम्रो विश्वास छ।

नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी दल कुन हो?

त्यो भन्न सकिन्न। हामी नेपाली कांग्रेस नै पहिलो दल बन्ने विश्वास गर्छौँ।