Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इमानदार शैलीको परीक्षा : महावीर पुनको राजनीति र उठेका प्रश्नहरू (भिडियोसहित)

राजनीतिमा जब ठूला भाषण, महँगा वाचा र योजनाबद्ध नाटकहरू सामान्य बन्छन्, त्यही भिडमा शान्त, सरल र मौन शैलीले अघि बढ्ने पात्र स्वाभाविक रूपमा आकर्षणको केन्द्र बन्छ।  महावीर पुन अहिले त्यही अपवादका रूपमा नेपाली राजनीतिक बहसको केन्द्रमा छन्। इमानदारीता, निस्वार्थताका कारण उनी धेरैका लागि आशा बनेका छन्। तर लोकतन्त्रमा आशासँगै प्रश्न उठ्नु अस्वाभाविक होइन - बरु आवश्यक नै हो।

महावीर पुनको चुनावी शैली परम्परागत राजनीतिबाट बिल्कुलै फरक छ। “मलाई नै भोट दिनुस्” भन्ने आग्रहभन्दा टाढा रहेर “तपाईंलाई जो ठीक लाग्छ, उसैलाई भोट दिनुस्” भन्नु नै उनको विशिष्टता हो। यो अभिव्यक्ति सतहमा हेर्दा अत्यन्तै नैतिक र लोकतान्त्रिक देखिए पनि यही बिन्दुबाट केही गम्भीर प्रश्नहरू पनि जन्मिन्छन्। लोकतन्त्रमा उम्मेदवारले मतदाताको विवेकलाई सम्मान गर्नु सकारात्मक हो, तर उम्मेदवार स्वयंले आफ्नो कार्यक्रम र योजना, दायित्व र जवाफदेहिताबाट पन्छिन पाउने छुट हुँदैन।

सबैभन्दा पहिला प्रश्न उठ्छ - महावीर पुनको वैचारिक स्पष्टता कहाँ छ ? संविधानले प्रत्याभूत गरेका उपलब्धी तथा  रानीतिक सिद्वान्त  र दर्शनजस्ता आधारभूत विषयहरूमा उनको मत के हो ? यी विषय कुनै वैकल्पिक बहस होइनन्, राज्य सञ्चालनका मेरुदण्ड हुन्। कुनै पनि सांसदले यिनमा आफ्नो स्पष्ट दृष्टिकोण राख्नैपर्छ। ‘सिधा र इमानदार’ हुनु पर्याप्त गुण हो, तर त्यो गुण विचार र नीति बिना अधुरो रहन्छ।

अर्को गम्भीर प्रश्न भनेको जवाफदेहितासँग सम्बन्धित छ। यदि उनले “मन लागे भोट दिनु, नलागे नदिनु” भनेकै आधारमा भोलि म्याग्दीका जनताले आफ्ना समस्या, आवश्यकता वा अपेक्षा राख्दा “मैले त पहिले नै भनेको थिएँ” मन नलागे भोट नदिनु म गर्दिन भनेर पन्छिए भने के त्यो उत्तर गलत ठहर्छ ? सायद औपचारिक रूपमा गलत नठहर्ला, तर नैतिक रूपमा त्यो लोकतान्त्रिक प्रतिनिधित्वको असफलता हुनेछ। जनताले भोट दिएपछि सांसदको कर्तव्य सुरु हुन्छ, समाप्त हुँदैन। उनी यदी साँच्चै नै नेता बन्न चाहन्छन भने स्पष्ट  रानीतिक  विचार, दर्शन र सिद्वान्त, कार्यक्रम र योजना देखाएर मतदातासँग मत माग्दै आफू अरु उम्मेदवारभन्दा योग्य भएको दाबी गर्नसक्नु पर्छ ।

वर्तमान अन्तरिम सरकारमा महावीर पुन चार महिना पनि मन्त्रालयमा टिक्न नसकेको विषय पनि आलोचनाको केन्द्र बनेको छ। प्रश्न स्वाभाविक छ - यदि चार महिना कार्यकारी भूमिकामा टिक्न गाह्रो भयो भने, पाँच वर्ष संसदमा बस्ने धैर्यता गर्न सक्लान् त ? संसद भनेको केवल सत्य बोल्ने मञ्च होइन, सहमति खोज्ने, बहस गर्ने र कहिलेकाहीँ अप्रिय निर्णयसँग पनि सम्झौता गर्नुपर्ने थलो हो।

उनले मन्त्रालय ‘झोक’ मा त्यागेको भनाइ पनि गम्भीर रूपमा हेरिनुपर्छ। झोक, आवेग र निराशा मानविय स्वभाव हुन्, तर राजनीतिमा तिनको व्यवस्थापन गर्न सक्ने क्षमता नै नेतृत्वको परीक्षा हो। यदि पुनमाथि भविष्यमा फेरि त्यस्तै दबाब, अवरोध वा असहमति आयो भने-के उनले पुनः त्यही बाटो रोज्ने हुन् ? के उनी संसद पनि छाडेर भाग्लान् ? यदि उनले चुनाव जिते र केही समयमैं झोक चलेर सांसद पद छाडे भने त्यही क्षेत्रमा पुन उपनिर्वाचन गर्नुपर्ला वा म्याग्दीका मतदातासँग घात हुनेछ । जसरी ५ बर्षका लागि स्थानीय तहको नेतृत्व गर्न जनताले मत दिएर जिताएकाहरु अहिले सांसद बन्न पालिकाको त्यो जिम्मेवारी छाडेर मत माग्दै हिडेका छन्  । यो प्रश्न उनको इमानदारीतामाथि मात्र होइन, स्थायित्वमाथि पनि हो।

अन्ततः, “सोझोपनले राजनीति हुन्छ कि हुँदैन” भन्ने प्रश्न पनि यहीँ जोडिन्छ। सोझोपन प्रशंसनीय गुण हो, तर राजनीति केवल सोझोपनले चल्दैन-त्यसका लागि रणनीति, नीति, दृष्टि र निरन्तरता चाहिन्छ।

हामीले महावीर पुनलाई न त गलत सावित गर्न खोजेका हौँ, न त निर्विवाद सही ठहराउन। हामीले उठाएका यी प्रश्नहरू उनको विरोधका लागि होइनन्, लोकतान्त्रिक सचेतनाका लागि हुन्। यदि उनी साँच्चै राजनीतिमा फरक प्रतिनिधि हुन् भने, यी प्रश्नहरूको जवाफ दिनु उनको नैतिक दायित्व पनि हो, यो उनको लागी मात्र होइन आफुलाइ वैकल्पिक दावी गर्ने दलहरुको लागी पनी हो । 

आशा गरौँ महावीर पुनले इमानदारीसँगै जवाफदेहिता पनि देखाउनेछन्। यही नै उनको राजनीतिक यात्राको साँचो परीक्षा हुनेछ।  उनले संसदमा नयाँलाई सहयोग गर्ने बताएका छन् तर नयाँलाई नै सहयोग गर्ने भए उनीहरुसँगै मिलेर त्यही चुनाव चिन्ह लिएर किन चुनाव नलडेको भन्ने प्रश्न पनि उनीमाथि तेस्रिन्छ । 

साथै, संसदीय व्यवस्थामा एकजना मात्रै संसदमा पुगेर केही नहुने कुरा उनले बुझेका छन् कि छैनन् ? अहिले कुनै पार्टीमा आवद्व नभएको र स्वतन्त्र हुँ भन्दै मत मागेर सांसद बने भने उनीसामू संसदमा पार्टीका व्यक्तिलाई नै सहयोग गरेर प्रधानमन्त्री चुन्न पर्ने बाध्यता आउनेछ । महावीर के गर्लान्??