Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निर्वाचन आयोगले सोध्यो हेमराज थापालाई स्पष्टीकरण, ३ दिनको समय

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाजुरा प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार हेमराज थापालाइ स्पष्टीकरण सोधेको छ।

थापाले दिएको एक अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो। उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्षित गर्दै गाली–गलौज गरेको भन्दै आयोगमा निवेदन परेको थियो।आयोग स्रोतका अनुसार थापालाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको आरोपबारे स्पष्ट पार्न आयोगले सोधपुछ गरेको हो।

यसअघि मुख्यमन्त्री बानियाँले थापाले आफूविरुद्ध आरोप लगाउँदै गाली गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए। थापाले समयमै सडक नबनाएको आरोप लगाउँदै मुख्यमन्त्री बानियाँप्रति लक्षित अभिव्यक्ति दिएका थिए। तर मुख्यमन्त्री बानियाँले भने उक्त सडक ठेक्काको अवधि २०८४ सालसम्म रहेको र हिउँद तथा हिमपातका कारण निर्माण कार्यमा कठिनाइ भएको बताएका छन्। साथै, आफू सो ठेक्का पाएको कम्पनीबाट पहिले नै अलग भइसकेको उनको दाबी छ।

निर्वाचन आयोगले प्राप्त स्पष्टीकरणको आधारमा थप निर्णय लिने जनाएको छ।