Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

"पहिलोपटक मतदान गर्दैछु, उत्साहित मात्रै होइन सचेत पनि छु”

बैतडीका सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक मतदान गर्न पाउँदा उनीहरु दुवै जना उत्साहित छन् । साथै पहिलो पटक मतदान गर्दा उम्मेदवारलाई लिएर पनि उत्तिकै सचेत छन् ।
 
“आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्दैछु, उत्साहित मात्रै छैन, सचेत पनि छु”, रवीन्द्रले भने, “युवा र देशको वर्तमान आवश्यकतालाई प्राथमिकता राखेर काम गर्नसक्ने उम्मेदवारलाई भोट हाल्छु ।”
 
पहिलो पटक मतदान गर्न लागेकी हिमाले आफ्नो मत सक्षम नेतृत्व दान गर्ने बताए। “राम्रो र सक्षम नेतृत्वलाई मतदान गरेर देशको विकास गर्नु आवश्यक छ, त्यसैअनुसार सोच बनाइरहेकी छु”, हिमाले भने, “उम्मेदवारका एजेन्डालाई आफूले मत दिने आधार बनाउने छु ।” 
 
बैतडीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् । केही नयाँअनुसार छन् भने केही उम्मेदवार दोहोरिएका छन् । 
 
पुर्चाैंडी नगरपालिका– ४ का पुष्कर भट्टले उम्मेदवारसँग प्रतिबद्धता गरेर मात्रै आफ्नो अमूल्य मत दिने बताउँछन् । “मताधिकारको प्रयोग पहिलो पटक गर्दैछु । व्यक्तिगत स्वार्थभन्दामाथि नै रहेर योग्य, नैतिकवान्, राम्रो योजना र नीति भएका उम्मेदवारलाई मतदान गर्छु”, उनले भने।
 
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीका अनुसार जिल्लामा १२९ मतदानस्थल र २१४ मतदान केन्द्र छन् । जिल्लामा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई गरी एक लाख ५६ हजार ३७२ मतदाता छन् ।
 
सुरक्षा दृष्टिले यहाँका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।