Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

श्रीमान-श्रीमती नै संसद छिर्ने दाउमा : आगामी प्रतिनिधिसभा निर्वाचनमा पारिवारिक उम्मेदवारीको चर्चा (भिडियोसहित)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक श्रीमान-श्रीमती दुवै जना उम्मेदवार बनेका नेताहरूको चर्चा चुलिएको छ। विभिन्न दलबाट प्रत्यक्ष र समानुपातिकतर्फ पति–पत्नी दुबै निर्वाचनको मैदानमा उत्रिँदा नेपाली राजनीतिमा पारिवारिक उम्मेदवारीको प्रवृत्तिमाथि पुनः बहस सुरु भएको छ।

नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। उनकी पत्नी जुलीकुमारी महतो महासेठ धनुषा क्षेत्र नम्बर-३ बाट उम्मेदवार बनेकी छन्। दुवै जना यसअघि मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्।एउटै जिल्लाका फरक-फरक क्षेत्रबाट श्रीमान-श्रीमती प्रतिस्पर्धामा उत्रिनुले धनुषाको राजनीतिक माहोल थप तातेको छ।

एमालेकै अर्का नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोक-२ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। उनकी पत्नी उषाकला राई भने समानुपातिकतर्फ एमालेको उम्मेदवार सूचीमा छिन्। राई आदिवासी जनजाति क्लस्टरअन्तर्गत चौथो नम्बरमा रहेकी छन्।

प्रत्यक्ष र समानुपातिक दुवै माध्यमबाट परिवारकै सदस्य संसद पुग्न सक्ने सम्भावनाले यो जोडी पनि चर्चामा छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल नवलपरासी-२ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। यसअघि बागलुङ-१ बाट निर्वाचित भएका पौडेल यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर उम्मेदवार बनेका हुन्। उनकी श्रीमती वलावती शर्मा भने पार्टीको समानुपातिक सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा छिन्। पति-पत्नी भए पनि पार्टी राजनीतिमा शर्माको आफ्नै पहिचान र योगदान रहेको नेताहरूको भनाइ छ।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका वरिष्ठ पत्रकार ऋषि धमलाको उम्मेदवारीले पनि चुनावी सरगर्मी बढाएको छ। उनी आम जनता पार्टीबाट रौतहट-४ को प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। उनकी पत्नी एलिजा गौतम समानुपातिक सूचीमा समेटिएकी छन्। आम जनता पार्टी र जनादेश पार्टीले संयुक्त रूपमा बुझाएको समानुपातिक सूचीमा गौतम खसआर्य महिलातर्फ पहिलो नम्बरमा छिन्। धमला चुनावी अभियानका क्रममा कहिले जनताको उखुबारीमा, कहिले साइकल चलाउँदै, कहिले आरा चलाउँदै त कहिले जेरी पकाउँदै जनतामाझ पुगिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।

यसरी एकै परिवारका श्रीमान-श्रीमती दुवै जना संसद प्रवेशको दौडमा हुनु नेपाली राजनीतिमा नयाँ विषय होइन। समर्थकहरूले यसलाई अनुभव, निरन्तरता र राजनीतिक योगदानको आधारमा हेर्नुपर्ने तर्क गर्छन् भने आलोचकहरूले भने यसले अवसरको समानतामाथि प्रश्न उठाउने बताउँदै आएका छन्। आगामी निर्वाचनको नतिजाले यी उम्मेदवारहरूको राजनीतिक भविष्य मात्र होइन, नेपाली राजनीतिमा पारिवारिक उम्मेदवारीप्रतिको जनमतसमेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।