आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–३ बाट २० उमेदवार प्रतिस्पर्धामा छन् । उक्त क्षेत्रमा राजनीतिक दलका तर्फबाट १५ र स्वतन्त्रबाट पाँच गरी २० जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
ललितपुर–३ मा निवर्तमान सांसद तोसिमा कार्की रास्वपाका तर्फबाट पुनः उमेदवार बनेकी छन् । उनले यही क्षेत्रबाट ०७९ सालको निर्वाचन जितेकी थिइन् । त्यति बेला उनले ३१ हजार १३६ मत ल्याएकी थिइन् ।
यस क्षेत्रबाट पाँच स्वतन्त्र उमेदवार रुपेस शाह, अन्जु कारन्जीत (थापा), अशोजकुमार महर्जन, राधेश्याम खड्का र विमर्श मिश्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस्तै एमालेका तर्फबाट भने यस पटक सन्दन थापामगरलाई उमेदवार बनाएको छ । उनी पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
यस्तै अर्का पार्टी कांग्रेसका तर्फबाट जितेन्द्र श्रेष्ठ प्रतिस्पर्धामा छन् । उनी कांग्रेसका ललितपुर जिल्ला सभापति हुन् । श्रेष्ठ ०७९ मा ललितपुर–३ ‘क’बाट वाग्मती प्रदेशसभा सदस्यका उमेदवार बनेका थिए । त्यति बेला उनी एमालेका प्रेमभक्त महर्जनसँग पराजित भएका थिए ।
यसपल्ट नेकपाका राजकाजी महर्जनले यस क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । उनी प्रतिनिधिसभातर्फ पहिलोपटक चुनाव लड्दै छन् । ०६४ र ०७४ मा चुनाव जितेकी भुसाल उमेदवार नबन्ने भएपछि पार्टीबाट महर्जन उम्मेदवार भएका हुन् ।
उनी ०७४ मा ललितपुर–३ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने ०७९ मा उनी सोही पदमा एमालेका रघुनाथ महर्जनसँग हारेका थिए । यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि एक प्रतिस्पर्धी मानिएको छ । यो क्षेत्रमा राप्रपाका सविनकुमार खड्का उमेदवार छन् ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का यज्ञप्रसाद पन्त, नेपाल मजदुर किसान पार्टीकी रमिला महर्जन, मंगोल नेसनल अर्गनाइजेसनका दिलकुमार महर्जन, जनता समाजवादी पार्टी, नेपालकी कृष्णदेवी महर्जन पनि यही क्षेत्रबाट उमेदवार बनैका छन् ।
राष्ट्रिय जनमोर्चाका निलगोविन्द महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का विष्णुराज खड्का, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई, संयुक्त राष्ट्रिय पार्टीका श्यामबहादुर राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खगेन्द्र महर्जन र उज्यालो नेपाल पार्टीका विजय पन्त पनि चुनावी मैदानमा उत्रिएका छन् ।