Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

आगामी निर्वाचनमा ध्यान केन्द्रित गरौँ : कृष्णप्रसाद सिटौला

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न महत्वपूर्ण भमिका खेल्नुपर्ने बताएका छन् । यतिबेला मुलुकमा एकताको आवश्यकता भएकाले सबै राजनीतिक दलहरु र सबै सांसदहरु मिलेर राजनीतिक दलमा एकता नगर्ने हो भने देश दिनप्रतिदिन कमजोर हुँदै जाने बताए ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा सदस्य सिटौलाले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा शुभकामना दिँदै भने, “सबै जनताको भावना सम्बोधन गर्न सक्ने ताकत भएको सरकार आओस् भन्ने आग्रह गर्छु । जुन विगतका सरकारमा देखिएको थिएन ।”

यसका लागि हरेक राजनीतिक दलमा पनि एकता चाहिएको छ र समग्र राजनीतिक दलहरुमा पनि एकता जरुरी रहेको सदस्य सिटौलाको भनाइ थियो । 

यस्तै सदस्य बेदुराम भुसालले विगतको राजनीतिक गतिविधि र सरकारको कार्य सम्पादनको समीक्षा गर्दै आगामी सरकार कस्तो आउनेबारे धारणा राखे । “सबैभन्दा पहिलो प्रश्न यो सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सक्छ कि सक्दैन रु त्यो गम्भीर प्रश्न अहिले देखापरेको छ”, उनले भने । साथै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि यतिबेला खडा भएको सदस्य भुसालले प्रस्ट पारे।