Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

फुट्यो कांग्रेस - काग्रेसको सभापति देउवा कि गगन ? (भिडियो)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्रीबीच भएको निर्णायक छलफल निष्कर्षविहीन भएपछि कांग्रेस औपचारिक रूपमा फुटेको छ। देउवा समूहले सानेपामा केन्द्रीय समिति बैठक बोलाएर महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

यससँगै विशेष महाधिवेशन पक्षधरले गगन थापाको  नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । दुवै समूहले आफू नै मूल नेपाली कांग्रेस भएको दाबी गर्दै एकअर्कामाथि कारबाहीको शृङ्खला अघि बढाउने संकेत गरेका छन्। नेपाली काँग्रेसका लागि अब मुल  प्रश्न हो - काग्रेसको आधीकारीक सभापति को ? नेपाली कांग्रेस कसको ? यो प्रश्नको उत्तर खोज्न दुई कांग्रेसबीच निर्वाचन आयोगमा निर्णायक लडाइँ शुरु भएको छ । कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको हो।  विशेष महाधिवेशन पक्षधरले यसअघि नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित नयाँ नेतृत्व चयन गरिएको विवरण आयोगमा बुझाइसकेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको पदाधिकारी हेरफेर वा संरचनामा परिवर्तन भएको ३० दिनभित्र आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। आयोगले आवश्यक जाँचबुझपछि प्रक्रिया र विधानअनुसार भएको ठहरेमा अद्यावधिक गर्ने अधिकार राख्छ। उजुरी परे सच्याउन पत्राचारसमेत गर्न सकिने व्यवस्था ऐनमा छ।

विशेष महाधिवेशनमा मृतकको नामसमेत समावेश भएको भन्ने चर्चा रहेकाले सो विषयमा उजुरी परे आयोगले दुवै पक्षसँग स्पष्टीकरण माग्न सक्ने देखिन्छ। तर संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै दफा ४३ तथा ४४ अनुसार ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित विवाद दर्ता गराएमा विषय तत्कालीन नेकपा विवादझैँ इजलासमार्फत टुंग्याउने प्रक्रियामा जानेछ।

ऐनअनुसार आयोगले दाबी पेश भएको १५ दिनभित्र अर्को पक्षलाई लिखित जवाफ माग्नेछ। जवाफ आएपछि सहमतिका लागि दुवै पक्षलाई बोलाइनेछ, सहमति हुन नसके इजलासमार्फत सुनुवाइ गरी एक पक्षलाई आधिकारिकता दिइनेछ। अर्को पक्षले छुट्टै दल दर्ता गर्न पाउनेछ तर आगामी चुनाव सहभागि हुन अब दर्ता हुने दलका लागी यो पनि सम्भव छैन ।

निर्वाचन नजिकिएसँगै कौतुहलताको प्रश्न - फागुन २१ को चुनावमा कसले बाँड्छ टिकट गगनले कि देउवाले?

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन हुँदैछ। आयोगले माघ ६ अघि कांग्रेसको विवादमा कुनै निर्णय नगरेमा, हाल दर्तामा रहेको विवरणअनुसार सभापति शेरबहादुर देउवाकै हस्ताक्षरबाट टिकट वितरण हुन सक्छ

अर्थात्, विशेष महाधिवेशन पक्षधरले वैधानिकता पाएमा मात्रै कांग्रेसको नेतृत्व र टिकट वितरण प्रक्रिया बदलिनेछ। नत्र आगामी निर्वाचनमा पनि कांग्रेस देउवाकै नेतृत्वमा जाने सम्भावना बलियो देखिएको छ।

यता आजै निर्वाचन आयोग पुगेका गगन थापाले भने पार्टी फुटेको छैन् विशेष महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गरेको दावी गरेका छन् ।