Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

शिल्प, भाषा र उद्यमबाटै नेवाः पहिचान जोगिनुपर्छ : कल्याण श्रेष्ठ

सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शिल्प, भाषा र उद्यमको संरक्षण तथा प्रवद्र्धनबाटै नेवाः समुदायको पहिचान जोगाउन सकिने बताएका छन् ।

आज पद्मरत्न लुमन्ती गुठीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘संविधानको एक दशकः देशको परिस्थिति र नेवाः समुदायको अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले नेवाः संस्कृतिलाई उद्यमसँग जोड्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

नेवाः समुदाय ऐतिहासिक रूपमा शिल्प र सीपका कारण चिनिएको स्मरण गराउँदै श्रेष्ठले पछिल्लो समय त्यो पहिचान कमजोर बन्दै गएकाप्रति चिन्ता व्यक्त गरे । “संस्कृति वृद्धि र शिल्पबाट चिनिन्थ्यो, तर आज त्यो हराउँदै गएको छ । बहाल र ब्याजमा मात्र निर्भर भएर हुँदैन, उद्यम र श्रममा फर्किनुपर्छ,” उनले भने ।

श्रेष्ठले नेवाः समुदायसँग गहिरो सांस्कृतिक धरातल र अपार सीपको खानी रहेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट स्वच्छ, प्रभावकारी र वैधानिक विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।  “हरेक भाषामा ज्ञान हुन्छ, त्यसैले भाषा संरक्षण अनिवार्य छ,” उनको भनाइ थियो । आत्मकेन्द्रित सोच त्यागेर सामूहिक प्रयासबाट मात्र समाज रूपान्तरण सम्भव हुने उनले स्पष्ट पारे।

कार्यक्रममा गुठीका सचिव नरेशवीर शाक्यले संविधानले सम्पूर्ण भाषाभाषीलाई समान अधिकारको व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे । उनले अधिकार व्यवहारमा लागू गराउन र पहिचान संरक्षणका लागि नेवाः समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पद्मरत्न लुमन्ती गुठीका अध्यक्ष केशवमान शाक्यले समाज रूपान्तरणमा पद्मरत्न तुलाधरले पुर्‍याएको योगदानलाई जीवन्त राख्ने उद्देश्यले गुठीले निरन्तर सामाजिक, सांस्कृतिक तथा बौद्धिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।