Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अमेरिका भिसामा नेपाललाई पनि कडाइ, राख्याे ‘भिसा बन्ड’ काे सूचीमा

अमेरिकाले नेपाललाई ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेकाे छ । नेपाललाई जनवरी २१ देखि लागू हुने गरी ‘भिसा बन्ड सूचीमा राखिएको हाे । 

अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१ र बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलर हुनेछ भने अधिकतम् रकम १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने भएको छ ।

भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरी धरौटीको रकम तय गर्नेछन् । यधपी यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सिधै जम्मा गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार, जुन देशका नागरिकहरू अमेरिका पुगेपछि समयमै आफ्नो देश फर्कदैनन्, त्यस्ता देशहरूलाई लक्षित गरी यो पाइलट प्रोग्राम ल्याइएको हो।

 ३ वटा विमानस्थलबाट मात्र प्रवेश र बहिर्गमन

भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले अब आफ्नो खुसी विमानस्थल प्रयोग गर्न नपाइने र उनीहरूले प्रवेश गर्दा र अमेरिका छोड्दा तोकिएका यी ३ विमानस्थल मात्र प्रयोग गर्नुपर्ने भएकाे छ ।

ती विमानस्थलहरूमा न्युयोर्कस्थित जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डिसी स्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुन सक्ने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्नेछ ।

यसरी हुन्छ धराैती फिर्ता

यसरी राखिएको धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने सूचनामा उल्लेख छ, तर त्यसका लागि आवेदकले कैयौं शर्तहरू पूरा गर्नुपर्ने हुन्छ ।

तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको शर्त उल्लंघन नगरेमा र तोकिएकै ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुनेछ ।

भिसाको म्याद नाघाएर अमेरिकामा बसेमा वा त्यहाँ पुगेर शरण (असाइलम) दाबी गर्‍यो भने उक्त धरौटी रकम जफत हुने नयाँ नियम रहेको छ ।

नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला लगायत ३८ देशहरू अहिले यो सूचीमा परेकाे मन्त्रालयले जनाएकाे छ ।