Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मुख्यमन्त्री कँडेलद्वारा भेरी पम्पिङ आयोजनाको अनुगमन

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमबार भेरी पम्पिङ आयोजनाको अनुगमन गरेका छन् । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजनाको सोमबार अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री कँडेलले आयोजना लक्ष्यअनुसार तीव्र गतिमा अघि बढेकामा प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, “यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा सङ्घीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको सात प्रतिशत लगानी छ ।”

आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘सिज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल कर्पोरेसन’ले गत वर्षदेखि कामलाई निरन्तरता दिएको मुख्यमन्त्री कँडेलले जानकारी दिए। उनले भने, “विगतमा निर्माण प्रक्रियाका कतिपय चरण पूरा नगरी कार्यान्वयनमा जाँदा केही ढिलाइ भएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको छ ।” 

विगतमा केही समस्या भए पनि प्रदेश सरकार र नगरपालिकाबीच सहकार्य र समन्वय निरन्तर भइरहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । उनले ठेकेदार कम्पनीलाई यही गतिमा कामलाई निरन्तरता दिन निर्देशन दिए। 

मुख्यमन्त्री कँडेललाई आयोजना परामर्शदाता प्रमुख रमेश अधिकारीले भौतिक प्रगति करिब १४ प्रतिशत भएको जानकारी दिएकाे थियाे । उनले पहिलो चरणमा रु तीन अर्ब पाँच करोड आठ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको जानकारी दिए । भेरी नदीबाट सात किमी दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।

आयोजना सन् २०२७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘पम्पिङ’ प्रविधिबाट सुरु गरिएको उक्त परियोजनाले वीरेन्द्रनगरका बासिन्दालाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित निर्माण सुरु गरिएको हो ।