Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ ।

नक्सालस्थित प्रतिष्ठानमै आयोजित कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे । उनले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यसको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेकाे थियाे ।

कुलपति हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनमा यसको ‘कन्टेन्ट’, ‘कन्सेप्ट’, ‘टुल्स’ तथा ‘टेक्निक’को विषयबारे आफ्नो धारणा राख्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी ‘कल्चरल गाइडलाइन’का आधारमा  कला सिर्जना हुनुपर्ने बताए । 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको अवधारणाका बारेमा ध्यान दिन आग्रह गरे । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए ।

कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले  भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा ‘फस्र्ट एनिमेसन आर्ट वर्कसप’सँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्दै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा अवधारणा विकासलगायतका विषयमा जानकारी दिए ।

शुक्रबारसम्म सञ्चालन हुने कार्यशालामा डिभा लिम्बू, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मोक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएकाे छ ।