Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।

चालु आर्थिक वर्ष २०८२र८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ । 

चमेरेदेखि नै जङ्गलको झाडी फँडानी गरेर सोलिङ्गसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । मुख्यगरी गाउँमा दिवङ्गत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् । 

रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिए । 

दुई सातादेखि दैनिक १२ देखि १५ जना पदमार्ग निर्माणमा खटिएका छन् । रानीपौवादेखि चमेरे हुँदै आर्यघाटसम्मको गोरेटोबाटोमध्ये करिब एक किलोमिटर बाटो भिरालो र साँघुरो भएकाले त्यसलाई स्तरोन्नतिसहित पक्की पदमार्ग बनाएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ । 

रघुगङ्गाको वडा नम्बर ३ रानीपौवाका साथै वडा नम्बर २ तल्लाघर र कोलमुनि बस्तीका स्थानीयले समेत दिवङ्गत भएकाहरूलाई यसै बाटो भएर आर्यघाटमा अन्तिम संस्कारका लागि लैजाने गर्छन् । यो पदमार्ग निर्माणले पूर्णता पाएमा गाउँमा दिवङ्गत भएकाहरूलाई अन्तिम संस्कारका लागि कालीगण्डकीस्थित आर्यघाट पु‍र्याउन सहज हुनेछभने गाउँमा उत्पादन भएको केरा, सुन्तलालगायतका कृषिजन्य उत्पादनलाई बिक्री–वितरण गर्नसमेत सहज हुने उपभोक्ता समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, जङ्गलबाट घाँस दाउरा घरमा ल्याउन र बेनी–जोमसोम सडक खण्डको चमेरेदेखि छोटो दूरीमा रानीपौवागाउँ उक्लिन यो पदमार्ग उपयोगी हुनेछ । 

“अहिले गाउँमा दिवङ्गत भएकाहरूलाई घाटमा ल्याउन निकै कठिन छ,  भिरालो र साँघुरो डोरोमा जोखिमपूर्ण तवरले हिँड्नुपर्छ, झाडीले बाटो ढाकिने भएकाले नियमितजसो झाडी फाँड्नुपर्ने बाध्यता छ,” उपभोक्ता समितिका सचिव कार्कीले भने । यो पदमार्ग पुनर्निर्माण सम्पन्न भएमा चमेरेदेखि रानीपौवा, तल्लाघर हुँदै ऐतिहासिक भगवती कोत मन्दिर भएर पर्यटकीयस्थल रुइसे क्षेत्रसम्मको पदयात्रा गर्नका लागिसमेत प्रयोगमा आउनेछ ।