पर्साको वीरगञ्जमा विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको थियो। उक्त ताेडफाेड सामाजिक सञ्जालमार्फत फैलिएपछि वीरगञ्जमा पनि प्रदर्शन आइतबार बिहानैदेखि मुस्लिम समुदायले टायर बालेर प्रदर्शन गरेका हुन्।
छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन अश्रू ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए।
प्रदर्शनमा सहभागी अगुवाहरूले तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन्। जमियतुल उलमा नेपालको केन्द्रीय सहअध्यक्ष एवं यतिमखाना इस्लामिया स्कुल छपकैयाका प्रधानाध्यापक मौलाना अली असगर मदानीले धनुषामा भएको कार्य निन्दनीय भएको बताए। उनले यस घटनामा संलग्नलाई कारबाही हुनुपर्ने बताए।